जनशक्तिको अभाबमा रौतहटको गौर अस्पतालको आइसियू र भेन्टिलेटर प्रयोग बिहिन बनेको छ । जनशक्ति अभाबमा गौर अस्पतालमा १० बेडको आइसियू, ४ भेन्टिलेटर तथा १५ वटा एचडियू बेड सञ्चालन हुन नसकेको हो ।

कोरोना संक्रमित बिरामी मृत्युको मुखमा पुग्दा समेत यि मेशिनहरु प्रयोगमा आउन सकेका छैनन् । जनशक्तिकै अभाबमा आइसियू र भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेको गौर अस्पतालका मेसु डा. कृष्णा साहले बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा बिरामीको उपचारमा कठिनाइ भएको डा. साहको गुनासो छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रोत र साधन भएर पनि उपयोगमा ल्याउन पाउन नसक्नु दुखद भएको डा. साहले बताए । गौर अस्पतालको भवनको पछाडी पश्चिम पट्टि एउटा अर्को भवनलाई अस्थायी कोविड वार्ड बनाइएको छ । गौर अस्पतालकै चिकित्सकहरु ड्यूटी मिलाएर कोविड वार्डमा खटिएका छन । यो अस्थायी अस्पतालमा बुधबार पनि २ जनाले ज्यान गुमाएको डा. साहले जानकारी दिए । बुधबार सम्म गौर अस्पतालमा उपचारको क्रममा १८ जनाले ज्यान गुमाइसकेका छन् । गौरमा रहेको कोविड अस्पतालमा अक्सीजन बाहेक अन्य कुनै उपचार नपाउदा बिरामीले ज्यान गुमाउन थालेको स्थानियको आरोप छ ।

जिल्लामा जनशक्ति पठाउनका लागी सम्बन्धित निकायमा ताकेता गर्दा समेत आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मि उपलब्ध हुन नसकेको डा. साह बताउछन । स्वाब परिक्षणको लागि पिसिआर ल्याबमा पनि जनशक्तिको चरम अभाव रहेको उनले बताए । कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हँुदा एनेस्थेसिया, पारामेडिक्स, फिजिसयनको अभावमा आइसियू र भेन्टीलेटर सेवा दिन नसकेको डा. साहको भनाइ रहेको छ । गौर अस्पतालको पिसिआर ल्याबमा १४ जना कर्मचारी हुनु पर्नेमा ५ जना कर्मचारीले सेवा दिइरहेको डा. साहले बताए । प्रदेशलाई हामीले मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको उनले जानकारी दिए ।

अब केही दिन भित्र एमडि जिपी, एनेस्थेसिया, पारामेडिक्स र फिजियसन तथा नर्सिङ्ग स्टाफ भर्ना गर्ने उनले बताए । कर्मचारी अभावमा अस्पताल र कोविड वार्ड दुवै संचालन गर्न गाह्रो भएको उनले बताए । गत बैशाख १३ गते यता रौतहटमा जिल्ला बाहिर र जिल्ला भित्र गरी २८ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन । बुधबार मात्रै रौतहटमा ५६ जना नया संक्रमित थपिएका छन ।

-राजधानी डेल्ली बाट