विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको गठबन्धन स्रोतले जनाएको छ ।
स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।
हस्ताक्षर जुटेपछि अहिले संसद सचिवालयमा हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ । काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताए । सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका थिए ।










