काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाका विरुद्ध विपक्षी गठबन्धनले सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन गरिरहेको छ ।
सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा जुटेका हुन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा कांग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा जुटेका हुन् । यस्तै माधव नेपाल पक्ष पनि सोही प्रयोगमा जुटिरहेको सिंहदरबारमा रहेको नेताहरुले जानकारी दिएका छन् ।
हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका सांसदहरु दिउँसो १ बजे सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जान लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका छन् ।
शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते राति संसद विघटन गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ ।










