काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-०८९ को बजेट शनिबार ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाटै प्रस्तुत गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकाले आगामी आवको बजेट सरकारले अध्यादेशबाट ल्याउन लागेको हो ।
शनिबार बजेट ल्याउने भएपनि शुक्रबार अर्थ मन्त्रालयले मध्यान्न २ बजे आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार शुक्रबार २ बजे भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण भर्चुअल प्रस्तुत गरिने छ ।
सरकारले आगामी आवको बजेट ल्याउनु अगावै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । आगामी आवको बजेटको लागि पनि ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक भने त्यो हुन सकेन् ।
आगामी आवको बजेट विशेषगरी कोभिड–१९ लाई पुनरुत्थान गर्नेगरी बजेट निर्माण गरिरहेको छ । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता बढाउने उदघोष गरिसक्नु भएको छ । यस्तै उहाँले कर्मचारीको तलब भत्ता समेत बढाउने संकेत गर्नु भएको छ ।
प्रधानमन्त्रीले नै उद्घोष गरेपछि उहाँले घोषणा गरेका बृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता केही बडढने भएपनि कर्मचारीको तलबको विषयमा यकिन हुन नसकेको अर्थ स्रोतको भनाइ छ । कोरोनाका कारण राजस्व कम उठने भएकाले यसको लागि स्रोत सुनिश्चित गर्न समस्या हुने अर्थको ठहर छ ।










