१६ जेठ (रासस) : कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् ।
पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छे गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित ११५ छन् । नौ वडा रहेको गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा मात्र ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गत वर्ष कोरोनाको पहिलो चरणमा यस गाउँपालिकामा एक÷दुई जनामा मात्र सङ्क्रमण पुष्टि भएको थियो । शहर कोरोनाको ‘हटस्पट’ हुँदासमेत गाउँमा खासै सङ्क्रमण बढेको थिएन तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरले गाउँगाउँमा सङ्क्रमण बढेको छ । गत वैशाख १५ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू भएकामा निषेधाज्ञाको अवधिमा गाउँमा सङ्क्रमण ह्वात्तै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
गाउँपालिकामा लक्षणसहितका सङ्क्रमित बढेसँगै अस्पतालमा उपचारको पहुँच अभिवृद्धि गर्नु र परीक्षणको दायरा बढाउनुु चुनौती रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए । उनले भने , “गत वर्ष कोरोनाको सङ्क्रमण शहरमा बढी थियो, गाउँमा खासै प्रभाव परेको थिएन तर अहिले भने हामीलाई सङ्क्रमण फैलावट रोक्न ठूलो चुनौती थपिएको छ ।” लक्षण देखिएका बिरामीसमेत परीक्षणका लागि नआउने र स्वास्थ्य मापदण्डको पालना नगर्दा गाउँमा सङ्क्रमण बढेको आचार्य बताउँछन् । माछापुच्छ«ेको सार्दिखोला स्वास्थ्यचौकीमा पनि १० शय्याको आइसोलेशन सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिका र जिल्लाका अन्य चारवटा गाउँपालिकामा पनि सङ्क्रमण फैलिएपछि स्थानीय तहले आइसोलेशन सेन्टर निर्माण शुरु गरेका छन् । कोरोनाका बिरामीको आधारभूत उपचार गर्न अक्सिजनसहितको आइसोलेशन अस्पताल व्यवस्थापनमा स्थानीय सरकार जुटेका हुन् । कतिपय स्थानीय तहले नयाँ आइसोलेशन थप गर्दै गएका छन् भने विगतका आइसोलेशनकक्षहरूको क्षमता वृद्धि गर्न लागेका हुन् ।
माछापुच्छ«ेले वडा नं ८ स्थित भेँडाबारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १३ शय्याको अक्सिजनसहितको आइसोलेशन निर्माण शुरु गरेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका तीन चिकित्सकको प्रत्यक्ष निगरानीमा आइसोलेशनमा बिरामीको उपचार गर्ने योजना गाउँपालिकाको छ । गाउँपालिकाका अधिकांश सङ्क्रमित होमआइसोलेशनमा रहे पनि जटिल स्वास्थ्य अवस्थाका बिरामी पोखरामा उपचार गराइरहेका छन् ।
“सङ्क्रमितको प्राथमिक उपचार पालिकामै गर्र्ने र घरमा एकान्तबास भएर बस्न नसक्ने र स्वास्थ्यकर्मीको निगरानीमा बस्छु भन्नेहरूलाई लक्ष्य गरेर आइसोलेशन निर्माणको अन्तिम चरणमा छौँ”, उपाध्यक्ष दबाडीले भने , “गम्भीर अवस्थाका सङ्क्रमितलाई भने पोखरा सिफारिस गर्नुको विकल्प छैन ।” मादी गाउँपालिको गत वर्ष नै थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको आइसोलेशन तयार गरेको थियो । गत वर्ष सोको त्यति उपयोग नभए पनि यसपटक भने सङ्क्रमित बढेपछि शय्या अभाव भयो ।
गाउँपालिकामा पछिल्लोपटक ११६ कोरोनाका सक्रिय सङ्क्रमित छन् । सङ्क्रमण फैलावट बढ्दै जाँदा थप १५ शय्या विस्तार गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए । उनका अनुसार केही दिनअघिको गाउँकार्यपालिका बैठक र स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयानुसार शय्या विस्तारका लागि आवश्यक सामग्री व्यवस्थापन भइरहेको छ । उनले भने , “लक्षण नभएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामी होमआइसोलेशनमा हुनुहुन्छ । चिकित्सको निगरानी आवश्यक पर्ने र केही असहज भएकाहरूलाई आइसोलेशनमा राखिएको छ भने गम्भीर खालका बिरामीलाई पोखरा पठाउने गरेका छौँ ।”
स्वास्थ्य उपकरण, जनशक्ति व्यवस्थापनलगायतका समस्याका कारणले पनि जटिल अवस्थाका सङ्क्रमितलाई पोखरा पठाउने गरिएको बताइन्छ । गाउँपालिकाले कोभिडका बिरामीको उपचारका लागि छुट्टै चिकित्सक व्यवस्था गरेको छ । मादीमा १२ वडा रहेकामा कोरोनाका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजानका लागि दुईवटा एम्बुलेन्स निःशुल्क परिचालन गरेको छ ।
भौगोलिकरूपमा देशकै ठूलो पोखरा महानगरपालिकाले साविकको लेखनाथ नगरपालिकाकाले भवनमा १०० शय्याको कोभिड अस्पताल निर्माण गरेको छ । महागनरमा कोरोनाका बिरामी बढ्दै गएको र अस्पतालमा शय्या अभाव हुन थालेपछि महानगरले लान्यस क्लबहरूसँगको सहकार्यमा अक्सिजनसहितको अस्पताल निर्माण गरेको हो ।
महानगर प्रमुख मानबहादुर जिसीले शय्याहरूमा अक्सिजन जडानलगायतका काम सम्पन्न गरेर आगामी बुधबारदेखि बिरामी भर्ना गर्न शुरु गरिने जानकारी दिए । महानगरले १० दिनको अवधिमा सो अस्पताल निर्माण र स्वास्थ्य सामग्री र उपकरण व्यवस्थापन गरिएको जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले पनि पाँच शय्याको कोभिड अस्पताल स्थापना गरेर सङ्क्रमितको उपचार शुरु गरेको छ । सो आइसोलेशनमा अक्सिजनलगायतको सुविधा रहेको र २४सै घण्टा चिकित्सको निगरानीमा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको बताइन्छ । रुपा गाउँपालिकाले पनि रुपाकोट अस्पताललाई कोभिड अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बिरामीको उपचार र घरघरमै गएर परीक्षणको दायरालार्ई फराकिलो बनाएको अध्यक्ष नवराज ओझाले बताए ।
गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यचौकीमा कोभिडको नियमित स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यचौकीमा उपचार हुन नसकेमा गाउँपालिकाको अस्पतालमा सिफारिसका लागि एम्बुलेन्स सुविधा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । जिल्लाका स्थानीय तहले स्थापना गरेको आइसोलेशन अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि यसअघि प्रदेश सरकारले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु १० लाखका दरले सहयोग रकम विनियोजन गरेका थिए ।
जिल्लाका स्थानीय तहले आफ्नै बजेट र साधन स्रोतबाट कोभिड–१९ का विरुद्ध उपचार, एम्बुलेन्स व्यवस्थापन र स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै आएका छन् । कृष्ण दवाडी,रासस










