सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ ।

शुक्रवारदेखि सीमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले मंगलवारदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भीड बढेपछि कम्पनीले बिहान २ घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो ।

‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरू खुल्ला रहने जानकारी गराइन्छ,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट दिने बताएका थिए । २ कम्पनीको बिक्री काउन्टरबाट मात्र खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशत छुट कार्यान्वयन भएको भन्दै विभिन्न आलोचना समेत हुन थालेको थियो ।

साल्ट ट्रेनिङ कर्पाेरेसनले आप्नो उत्पादनबाट ५ जनाको परिवारलाई १ महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुटमा दिएको थियो । कम्पनीले २ किलो पिठो, चिनी, नून, १ लिटर तेल र १ सिलिण्डर ग्यासमा छुट दिनेछ ।

छुटपछि अब पिठोको मूल्य ४४, चिनीको मूल्य ६३, नून १६, तेल प्रतिलिटर १८८ र ग्यास प्रतिसिलिण्डर १ हजार १२० रुपैयाँमा बिक्री गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सी बाहेकको चामल) मा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।