काठमाडौं, २५ असार । सरकारले नेपाल प्रहरीका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजीहरुको सरुवा, एक जनाको बढुवा र पदस्थापन गरेको हो ।
काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालको सात महिनामै सरुवा भएको छ ।
महानगरीय प्रहरी कायालय, रानीपोखरीबाट उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ । महानगरीय प्रहरी कार्यालयमा प्रधुम्न कार्कीलाई ल्याइएको छ । एआईजी पाल ०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका थिए ।
भर्खरै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।










