काठमाडौं, २८ असार । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट हुन सक्ने सम्भावना रहेको बताएका छन् । हिजो राति कार्यदलको १० बुँदे सहमतिपश्चात् बालुवाटार पुगेर आफूहरुले नेपालसँग भेट गर्नका लागि अध्यक्ष ओलीलाई आग्रह गरेको उनले बताएका छन् ।

कार्यदलको सहमतिपश्चात् कार्यदलका एक जना संयोजक समेत रहेका नेम्वाङसँगै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘माधव नेपाललाई फोन गर्नुस्, भेटौं भन्नुस् भनेका छौं । उहाँले ठिक हो, भोलि बिहान (८–१२ बजेसम्म) गर्छु भन्नु भएको थियो । त्यसपछि के गर्नुभयो, सम्भवतः आज भेट हुनसक्छ’ नेम्वाङले भने ।

आज साँझ ५ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक त्यसअघि नै पनि बस्न सक्ने उनले बताएका छन् । बैठकबाट एमाले कार्यदलको १० बुँदे प्रस्ताव पारित गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । तर हिजोको सहमतिमा नेता नेपालले असहमति जनाइसकेका छन् ।