निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति असन्तुष्टि जनाएका छन् ।
संवैधानिक इजलासको फैसलाले लोकतन्त्रका अधारस्तम्भका रुपमा रहेका राज्यका तीन अंगका बीचको सन्तुलन नराम्रोसँग बिथोलेको उनको भनाइ थियो । उनले लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभङ्गुरमात्र हुने पनि बताए । ओलीले २०५२ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सरकार अपदस्थ भएपछि राजनीतिलाई ट्रयाकभन्दा बाहिर लगियो भने दुष्परिणाम ल्याउँछ भनेर आफूले भविष्यवाणी गरेको र अन्ततः त्यस्तै भएको पनि जिकिर गरे ।
‘राज्यका मुख्य अंगहरुबीचको सन्तुलन खलबलिएर लोकतन्त्रको संरचनामै क्षति हुन्छ कि भन्ने हाम्रो चिन्ता हो,’ उनले भने । संवैधानिक इजलासले निश्चित व्यक्तिका निश्चित आकाँक्षा परिपूर्तिका लागि यस्तो व्याख्या गरेको भन्दै ओलीले यस्तो व्याख्या र यसले सिर्जना गर्ने राजनीतिक विकृतिका सम्बन्धमा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिए ।










