काठमाडौं । साउनदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयले यस्तो तयारी थालेका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे छलफल गरिने बताए । उनले भने, ‘सर्वसाधारणको हकहितमा हामीले निरन्तर निषेधाज्ञा खुकुलो पार्दै आएका छौँ । यसपछिको निषेधाज्ञा थप खुकुलो पार्ने विषयमा छलफल चलिरहेको छ । लामो दूरीका सार्वजनिक सवारी सञ्चालन चल्न दिने बारे हाम्रो ध्यान गएको छ ।’

उनले अहिले नै निषेधाज्ञाको बारेमा थप भन्न नसकिने बताए । ‘हामीले छलफल गरिरहेका छौँ । विद्यालय, पार्टी प्यालेस, स्वीमिङ पुल, मठमन्दिर, सिनेमा हलको हकमा पहिलेकै नियम कायम राखिनेछ । यद्यपि, छलफल भइसकेको छैन‘ उनले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ । पछिल्लो समय उपत्यकामा थप गरिएको निषेधाज्ञा असार ३१ गते सकिँदै छ ।