गेस्ट हाउसमा बसेको खाएको रकम तिर्न नसकेपछि एक व्यक्तिले सञ्चालकलाई तर्साउन ‘होक्स बम’ (नक्कली बम) राखेको पाइएको छ । भक्तपुर मध्यपुरथिमी–४ मा रहेको दिव्येश्वरी गेष्ट हाउसमा बसेका काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–२, डाँडागाउँका ३२ वर्षीय नवीन तामाङले होक्स बम बनाएर राखेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले गेष्ट हाउसका सञ्चालक शिबशरण भुजुलाई तर्साउनका लागि होक्स बम राखेका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरले तामाङलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
तामाङले आफू बस्ने पहिलो तलाको ४ नम्बर कोठामा कुकरमा नांगो तार जडान गरेर तौलियाले ढाकेका थिए । सूचना पाएपछि प्रहरीको टोली शनिवार राति करीब साढे १० बजे नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको थियो । कुकरभित्र ब्याट्री तार राखेर बिजुलीको प्लगमा जोडेको पाइए पनि विष्फोटक पदार्थ भने नभेटिएको प्रहरीले जनाएको छ ।
सञ्चालक भुजुले तामाङसँग बसेको खाएको ४० हजार रूपैयाँ पटकपटक मागेकाले उनलाई तर्साउन तामाङले होक्स बम राखेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको परिसरका डीएसपी दीपक गिरीले जानकारी दिएका छन् ।










