अछुत कोपिला/काठमाडौं । हरेक तस्बिरसँग अर्थ जोडिएको हुन्छ । तस्बिरसँग आफ्नै कथा–व्यथा पनि जोडिएका हुन्छन् । तस्बिरले दिने अर्थ र त्यसले उठाउने सवालसमेत अनेक हुन्छन् । भनाइ नै छ – तस्बिर आफैं बोल्छ । वास्तवमा हजार शब्दले नबोल्ने कुरा एउटा तस्बिरले बोल्छ ।

अहिले भाइरस र भाइरलको जमाना छ । सामाजिक सञ्जालमा छिनभरमै तस्बिर भाइरल बनिदिन्छन् । त्यसको समर्थन, विरोध, आरोप, व्यंग्य र आलोचनाका बाढी नै आउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबारदेखि एउटा अर्को तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा अबोध बालकलाई देख्न सकिन्छ । यो तस्बिरलाई धेरैले ‘कहालीलाग्दो मृत्यु’ को रुपमा अथ्र्याएका छन् । यसले सञ्चारमाध्यमहरूमा पनि राम्रै स्थान पायो ।

सेतोपाटी डटकम अनलाइनमा नारायण खड्काले ‘बसमा यात्रारत् आमाको मृत्युपछि नाबालक छोरालाई फुल्याउन उनकै काखमा राखिदिएको एउटा भावुक तस्बिर’ शीर्षकमा समाचार लेखेका छन् । नेपाल समय डटकम अनलाइनले ‘यस्तो रहेछ भावुक बनाउने मृतक धर्माको तस्बिर–कथा’ शीर्षकमा समाचार प्रकाशन गरेको छ । धर्माको त्यस्तो मृत्युले धेरैको हृदय छोएको छ ।

मृत्यु जीवनको सत्य हो । तर उनको मृत्यु असामान्य हो ।

खासमा उक्त तस्बिरमा रहेकी महिला हुन्, धर्माकुमारी बटाला । काखमा रहेका नाबालक ३२ महिने किरण बटाला हुन् । उनीहरूको स्थायी ठेगाना रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ बाटाला (सुन्दरपानी) हो ।

माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपालमा रहेकी धर्मा बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालालाई भेट्न रुकुम पश्चिमबाट बसमा यात्रा गरिरहेकी थिइन् । मुटु रोगी उनको नेपालगञ्ज गएर उपचार गराउने धोको भने पूरा हुन सकेन ।

यो घटना बिहीवारको हो । उनी ना ३ ख ३७८८ नम्बरको नाइट बसमा यात्रा गरिरहेकी थिइन् । राडीबाट उनको बस यात्रा सुरु भएको थियो । बस छेडा पुग्ने बेलासम्म धर्मा र दलबहादुर फोनमा कुराकानी गरिरहेका थिए । धारापानीमा पुग्ने बेलासम्म पनि दलबहादुर उनीसँग सम्पर्कमा रहिरहे ।

त्यतिबेलासम्म पनि धर्माले श्रीमानलाई आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चिन्ता नगर्न भन्दै आइरहेकी थिइन् । यात्राकै क्रममा उनले आफूसँगै यात्रा गरिरहेका अर्जुन केसीसँग प्लाष्टिक मागिन् । उनलाई निरन्तर वान्ता आइरह्यो । करिब ४–५ पटकसम्म वान्ता गरेको उनी बताउँछन् । तर धर्माकुमारीको वान्ता रोकिएन ।

बोटेचौर पुगेपछि बारम्बार वान्ता भइरहयो । उनी कतिबेला सामान्य अवस्थामा हुन्छिन्, कतिबेला अप्ठ्यारो हुन्थ्यो ।

रात्रिबस आफ्नै सुरमा गुडिरहेको थियो । बसमा यात्रा गरिहेका यात्रु सुतिरहेका थिए । अबोध किरण पनि धर्माको न्यानो काखमा लुटुपुटु गर्दै मातृबात्सल्यको आनन्द लिइरहेका थिए ।

सुनसान रात, गुडिरहेको बसमा एक्कासी बालक रोइरहेको आवाज सुनियो । त्यतिबेला बस बर्दियाको हरियालेक पुगेको थियो । निदाएका यात्रुहरू ब्युँझिए । किरण बसको भुइँमा खसेका रहेछन् । धर्मा बसको सिटमा अडेस लागेकी थिइन् । सँगै रहेका अर्जुनले दिदी उठ्नुहोस्, बच्चा रोयो भने, बोलिनन् ।

उठ्नुहोस् न दिदी भने धर्मा हलचल समेत गरिनन् । अफसोच ! धर्माले कहिल्यै नउठ्नेगरि अनन्त यात्रा तय गरिसकेकी रहिछन् । एकैछिनमा बसमा सान्नाटा छायो । अबोध बालक किरण आमाको काखमा टुहुरो भए । यात्रुहरू दुःखी भए ।

उनी भन्छन्, ‘रोइरहेको बच्चा भुलाउन यात्रुहरूले पालैपालो समायौं । सोही क्रममा मृतक धर्माको काखमा किरणलाई राखिएको थियो ।’ त्यतिबेला एक यात्रुले खिचेको तस्बिर अहिले चर्चामा आएको छ ।

पत्रकार दिया चन्दले समाजिक सञ्जालमा लेखेकी छन् – हार्दिक श्रद्धाञ्जली ! दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो । उनी जस्तै थुप्रैले सामाजिक सञ्जालमा शब्दश्रद्धा व्यक्त गरेका छन् ।

वास्तवमा यो एक तस्बिर मात्रै होइन । एक तस्बिरमा अनेक वियोगान्त बोकेको तस्बिर हो । यसले अनेक सवाल जबरजस्त उठाइदिएको छ ।

भौगोलिक हिसाबमा बटाला कर्णाली प्रदेशकी हुन् ।

रुकुम पश्चिम भौगोलिक विकटता भएको क्षेत्र हो । जहाँबाट उनी बस चढिन् त्यहाँको सडक विकास वास्तवमा ज्यानमारा नै छ । स्थानीय सरकार आएपछि मौलाएको डोजर आंतक त्यसले खनेका कर्णाली क्षेत्रका सयौं उदाहरण छन् । भलै उनी मृटु रोगी थिइन् । उनको मृत्यु त्यसका कारण मात्रै भएको होइन ।

यतिमात्र होइन, सरकारमा बस्नेहरूले जहिले पहाड खोतल्नुलाई मात्रै विकास माने । उनीहरूले अस्पताल बनाउनेबारे कहिल्यै सोचेनन् ।

जुन गतिमा बाटो खनिन्छ त्यही गतिमा स्थानीयस्तरमै अस्पताल बनाउने हो भने सामान्य बिरामी हुँदा पनि मृत्युवरण गर्नुपर्ने बाध्यताबाट नागरिक मुक्त हुने थिए ।

राज्यले गरिरहेको अन्धाधुन्ध विकासले आज निर्दोष धर्माकुमारीको ज्यान लियो । अझै कतिले ज्यान गुमाउनुपर्ने हो, भविष्यमा । हामीले गरिरहेको भनिएको विकास ज्यान मार्नको लागि हो कि सुविधाका लागि । बटालाको मृत्युले उठाएको पहिलो सबाल हो यो ।

वर्गीय हिसाबमा उनी कथित दलित समुदायको प्रतिनिधित्व गर्छिन् । उनको पारिवारिक अवस्था हेर्दा मजदुरी गरेर साधारण जीवन बिताइरहेको बुझ्न गाह्रो हुँदैन । बहुआयामिक गरिबीको मारमा रहेको कर्णालीमा यस्ता धेरै धर्माकुमारीहरूको अकाल मृत्यु भएको लुकेको छैन ।

आफ्नै माटोमा समयमै उपचार पाएको भए उनले अकालमा मृत्युवरण गर्नुपर्ने थिएन । उनको मृत्युको कारण समग्रमा सरकार हो । जनप्रतिनिधि हुन् । हामीले स्वास्थ्य माफियाहरूको चंगुलमा रहेको स्वास्थ्य प्रणाली हो ।

जहाँ तमाम धर्माकुमारीहरूको लागि उपचारको लागि सहजता छैन । उनीहरूजस्ता बर्गले गतिलो स्वास्थ्योपचारमा पहुँच नै राख्दैनन् । नेपालको संविधानमा उल्लेख गरिएको आधारभूत र निःशुल्क स्वास्थ्य सेवा आकाशको फल जस्तै हो, उनीहरूका लागि ।

अर्को कुरा हो, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्माकी जिल्लाकी नागरिक हुन् । सायद्, शर्मा दाजुभाइकी मतदातासमेत थिइन्, उनी ।

माओवादीहरूको क्रान्तिकारी थलोका रुपमा रहेको रुकुम पश्चिमको सोती हत्याकाण्डको कंलक त छँदैछ । जहाँ नवराज विक सहित ६ जनाको हत्या गरिरहेको थियो ।

उनको मृत्युसँगको राजनीतिक कारण र सन्दर्भसँग पनि पक्कै जोडिनेछ । यो होइन की दलित समुदायकी भएर मारिएका हुन् । यो सत्य के हो भने, उनको मृत्यु भुगोलसँग जोडिएको छ । जनप्रतिनिधि हुनुका नाताले गोपाल र जर्नादन पनि जोडिएका छन् ।

उनीहरूले बनाएका भनिएका सुविधासम्पन्न अस्पताल र स्थानीय तहले निःशुल्क पढाएका डाक्टरले धर्माकुमारीको उपचार गर्दैनन् ।

नवराज प्रकरणमा हत्याजस्तो गम्भीर अपराधलाई विषयान्तर मात्रै होइन निस्तेज पार्न खलपात्रको भूमिका खेलेका उनीहरूको नाममा अर्को कलंकको टिका लाग्नेछ, धर्मा कुमारीको मृत्यु । कर्णालीका जति जनप्रतिनिधि छन्, उनीहरुले अब एकपटक ठन्डा दिमागले सोचुन् ।

बिचरा, मुटु रोगको गहिरो पीडासँग संघर्ष गरिरहेकी धर्माले कच्ची सडक र थोत्रो बसको सिटमा कति सास्ती व्यहोरिन् होला । कर्णालीको कहालीलाग्दो यात्रा नगरेकाहरूले अनुमान मात्र गर्न सक्छन् । त्यो हामी भोग्नेहरूलाई मात्रै थाहा छ जीवनलाई मृत्युको हत्केलामा राखेर यात्रा गर्नुपर्ने विवशता ।

कर्णालीवासीको विवशता र विडम्बनाको पछिल्लो उदाहरणमात्र हो, बटालाको मृत्यु । यो विषय अब सार्वजनिक बहसको बन्नुपर्छ ।

अझै कहिलेसम्म धर्माकुमारीको जस्तो वियोगान्त मृत्युवरण गर्नुपर्ने हो । कति किरणहरू टुहुरो हुनुपर्ने हो अनाहकमा ।

हार्दिक श्रद्धाञ्जली धर्माकुमारी बटाला !