बिराज रौस्यारा, कैलाली
दार्चुलामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमति कौशा महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताउनुभयो । यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । आइतबार राति आएको बाढी पहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुगेको हो ।
यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशिले बताउनुभयो । यस्तै वडा नम्बर ३ निजाङगाडमा आएको बाढीले दुई जना बेपत्ता बनाएको छ बाढीमा परी स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता भएका हुन् ।


दुहुँ ३ को श्रीबगडमा निजाङगाड खोलाले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।
अहिले घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् । घटनास्थलसम्म पुग्ने बाटो अवरोध हुँदा उद्दार कार्यमा ढिला भएको महाकाली नगरपालिकाका नगर प्रमुख हशं राज भट्टले बताए । अहिले सो क्षेत्रमा तुइन लगाएर भए पनि समान सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।









