कोरोना भाइरसविरुद्ध पुर्ण खोप लगाएका मानिसहरुमा एन्टिबडी विकसित भएको छ । देशका विभिन्न स्थानबाट १३ हजार १ सय ६१ जनाको नमुना परीक्षण गर्दा एन्टिबडी विकसित भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोभिड–१९ विरुद्धको खोपको एउटा डोज लगाएका व्यक्तिमा भन्दा पुर्ण खोप लगाएका व्यक्तिमा एन्टिबडी राम्रोसँग विकसित भएको पाइएको मन्त्रालयले जनाएको छ । ‘देशभर ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ ।
सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा तथा सबै समुहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको छ।’ मन्त्रालयले जारी गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।
एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पुर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको भन्दै मन्त्रालयले पछिल्लो समयमा लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको उल्लेख गरेको छ।










