मध्यपश्चिम विश्वविद्यालयमा रोकिएका परिक्षा भदौ २८ गतेदेखि सञ्चालन हुने भएका छन् । विश्व विद्यालयले यही भदौ २८ गतेदेखि दसैंको अघिल्लो दिन अर्थात असोज २० गतेसम्म परीक्षा लिनेगरी कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौँ सेमेष्टरका मौका परीक्षा, सेमेष्टर नै ग्याप भएका एमवीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको छ।
यस्तै वीएड, एमएड, वीवीए, वीएचएम, वीटीटीएम वीवीएस, वीएमसी, एमवीए, वीए, एमए, वीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।
जस अनुसार पहिलो दिन भदौ २८ गते विज्ञान तथा प्रविधि संकायका स्नातक तहका वीएसी र वीएसी सीएआइटीका आठौँ सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन असोज २० गते शिक्षा शास्त्र संकायअन्तरगत वीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन्।
सेमेष्टर ग्याप भएका परीक्षाहरू बिहान ८ बजेदेखि १०:३० बजेसम्म र अन्य परिक्षाहरु मध्यान्न १२ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुनेछन्।
विद्यार्थीहरूले अनलाइन वा भौतिक उपस्थितिमध्ये कुनै एउटा माध्यम रोजेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले जानकारी दिनुभयो। यसअघि साउन ८ गतेदेखि हुने भनिएका वार्षिक तथा मौका परीक्षाहरू विद्यार्थीहरूको आन्दोलनका कारण डेढ महिनादेखि रोकिएका थिए।










