लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताउनुभएको छ ।शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन सहित गठबन्धनको सरकारले नयाँ बजेटमा जनताको मुहारमा खुसी ल्याउने गरी बजेट ल्याउन लागेको बताउनुभएको हो ।
एक वर्षभित्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रदेश सरकारले काम थालेको उहाको भनाई छ । उहाँले अहिले बनेको गठबन्धनको सरकारले राजनीतिक रंगको आधारमा नभई आम नागरिकको चाहना र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई प्राथमिकता दिएर काम गर्ने ठोकुवा गर्नुभयो । मुख्यमन्त्री केसीले प्रदेशका सबै नागरिकलाई कोरोना खोपको चाडै व्यवस्था गर्ने जानकारी दिनुभयो । केसीले यसअघिको सरकारले जनतालाई झूटो आश्वासन मात्र बाँडेर प्रदेश र स्थानीय तहको औचित्य नै समाप्त पार्न खोजेको आरोप लगाउनुभयो । केसीले प्रदेश सरकारलाई असफल बनाउन प्रतिगमनकारी लागिरहेको बताउदै यस्ता शक्तिलाई परास्त पार्न प्रदेश सरकारले जनताको मुहार बदल्ने जनमुखी कार्यक्रम ल्याउने योजना अघि सारेको बताउनुभयो ।










