५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो ।
हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७ दशमलव ९ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८ दशमलव छ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९ दशमलव सात प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कूल २३ जिल्ला र दुई सय १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ ।
दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भक्तपुरमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा शिक्षा सचिव राम प्रसाद थपलियाले मुलुकका सवै नागरिकमा साक्षरता प्रदान गर्न चेतना जागृत गर्न आवश्यक रहेको धारणा राखे ।
उनले कोहि पनि निरक्षर नरहनका लागि उचित वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रमका अन्य सहभागीहरुले शिक्षण सिकाइमा देखिएको खाडललाई हटाउनुपर्ने बताएका थिए । त्यस्तै अव प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने उनीहरुको भनाई छ ।
हाल ३५ हजार ६ सय ७४ कुल विद्यालय रहेकामा २७ हजार ८ सय १८ सामुदायिक विद्यालय, छ हजार ७ सय ३२ संस्थागत (निजी) र एक हजार एक सय ३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ।










