काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो ।
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुप¥यो । पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका थिए । त्यस्तै बिपी सङ्ग्रहालयले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बिपीको शलिकमा माल्यार्पण गर्दै प्रवक्ता शर्माले बिपी कोइरालाको त्याग र बिचारलाई कांग्रेसका हरेक नेता कार्यकर्ताले मनन गर्नुपर्ने बताउनुभयो । अहिले कांग्रेस बलियो भएर वीपीले देखेको सपनालाई साकार पार्नुपर्ने उहाले बताउनुभयो । क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।
अहिले प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा स्थापना गरिएको छ । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पु¥याइएको छ ।
सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले विसं २०३० जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।










