राष्ट्रिय विवादको विषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको विरोधमा मौलिक जरोकिलो पार्टीले शनिबार दमकमा कोणसभा गरेको छ । जरोकिलो पार्टी प्रदेश १ ले शनिबार दमक चोकमा हस्ताक्षर अभियान सहितको कोणसभा गरेको हो । पार्टीले देशको अहितमा हुने जुनसुकै विषयमा पनि खुलेर विरोध गर्ने जनाएको छ । कोणसभालाई सम्बोधन गर्दै पार्टीका प्रदेश प्रमुख इन्द्र प्रसाद ओलीले देशको अहितमा रहेको एमसीसी सम्झौतालाई खारेज गर्ने पार्टीको हस्ताक्षर अभियानमा सहभागी बन्न आग्रह गर्नुभयो । सभामा उपस्थित पार्टीका नेता कार्यकर्ता नो एमसीसी, नो निड एमसीसी लगायतका प्ले कार्ड बोकेर उभिएका थिए ।

यसैबीच मौलिक जरोकिलो पार्टीका प्रदेश प्रमुख इन्द्र प्रसाद ओलीले पार्टीले चरणबद्ध रुपमा एमसीसीको विरोध गरिरहेको बताए । शनिबार झापाको दमकमा सवाल नेपालसँग कुरा गर्दै उहाँले सम्झौताको विरोध स्वरुप चरणबद्ध कार्यक्रम गरिरहेको बताउनुभएको हो । विरोध कार्यक्रम अन्तर्गत विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको र एमसीसी सम्झौताको विषयमा प्रधानमन्त्री राष्ट्रपति तथा देशका प्रमुख दलका शिर्ष नेताहरुले समेत चित्तबुझ्दो स्पष्टिकरण दिन नसकेको कारण सडकमा उत्रन बाध्य भएको बताउनुभयो ।

पार्टीको अबको अभियान एमसीसीका फाइदा बेफाइदाको बारेमा सम्पूर्ण जनतामा सचेतना फैल्याउने र सँगसँगै हस्ताक्षर अभियान पनि अघि बढाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रको अहितमा रहेको सम्झौता खारेजीका लागि आफूहरु अन्तराष्ट्रिय निकायहरु लगायत संयुक्त राष्ट्रसंघ सम्म मुद्दा प्रक्रियामा जान तयार रहेको उहाँको भनाई थियो ।










