काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले भोलि (बिहीबार) मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

आज (बुधबार) स्थायी कमिटीको बैठकपछि पत्रकारहरूलाई जानकारी दिंदै प्रवक्ता महराले केहीबेरमा सत्ता गठबन्धनको बैठक बस्न लागेको भन्दै बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अहिले केहीबेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ’, उनले भने, ‘त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए । ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको काम सिद्धिन्छ’ महराले भने ।

उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि गठबन्धनका नेताहरूले नै निर्णय लिने जानकारी दिएका छन् । ‘अध्यादेश खारेजीको कुरा आइरहेको छ, भोलि नै पार्लियामेन्ट छ, त्यहाँ प्रतिस्थापन विधेयक पनि जानसक्छ’, महराले सुनाए, ‘त्यसपछि विधेयक विषयमा सबै दलको राय समान हुन्छ ।’