रामेछापमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। भरुवा बन्दुक र छुरी देखाएर सुनका गरगहना, नगद लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार गोकुलगंगा गाउँपालिका-६ फर्पुका ३३ वर्षीय ठुला भन्ने मिलन तामाङ, २६ वर्षीय राहुल भन्ने लालबहादुर तामाङ, ३४ वर्षीय जंगे भन्ने आकाश तामाङ र १८ वर्षीय आशिष भन्ने भुमिराज तामाङ पक्राउ गरिएको छ। उनीहरुमध्ये २ जना रामेछाप र २ जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो। उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लिखु तामाकोशी गाउँपालिका-६, जामुनेस्थित चन्द्रबहादुर बुढाथोकीको घरमा उनीहरुले भदौ ३१ गते लुटपाट गरेको प्रहरीले जनाएको छ। चन्द्रबहादुरकी श्रीमती सुनीता र दुई छोरी मात्रै भएको समयमा उनीहरु घरमा आएका थिए। डाँका समूहले भरुवा बन्दुकको कुन्दाले हिर्काएर आमा छोरी तिनै जनालाई घाइते बनाएर सुनका गर गहना र नगद पैसा चोरेका हुन्।

उनीहरु हिँडेपछि छोरीहरु छिमेकीको घरमा गुहार माग्न गएपछि प्रहरीले घटनाको जानकारी पाएको थियो। घटनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट तत्काल अनुसन्धान अधिकृत तथा घटनास्थल विशेषज्ञ र प्रहरी चौकी खिम्ति समेतको टोली परिचालन गरेको थियो। पक्राउ गरिएका व्यक्तिहरुले प्रारम्भिक सोधपुछमा आफ्नो कसूर स्वीकार गरेको जारी विज्ञप्तिमा उल्लेख छ। प्रहरीले उनीहरुको साथबाट भरुवा बन्दुक जस्तो देखिने एक थान वस्तु नियन्त्रणमा लिएको छ।