पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटकका लागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्यअनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो । मन्त्रिरिषद्को निर्णयका आधारमा अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको छ ।

सो आदेशअनुसार अब विभिन्न देसबाट नेपाल आउन चाहने विदेशी नागरिकले अध्यागमन प्रवेश बिन्दुमा भिसाका लागि आवेदन दिन पाउने भएका छन् । यसअघि नेपालमा कोरोना महामारी सुरु भएसँगै सरकारले सम्बन्धित देशमा रहेको दूतावासबाट मात्र नेपाल प्रवेश गर्ने भिसा लगाउँदै आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारको यो नयाँ निर्णयसँगै अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा पाउनेछन् । जसका लागि अझै सरकारले नेपाल प्रवेश गर्नेका लागि केही प्रावधान भने राखेको छ । नयाँ व्यवस्थाअनुसार नेपाल आउन विदेशीले कोभिड खोप लगाएको १४ दिन पूरा गरेको हुनुपर्नेछ भने हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनुपर्नेछ ।

यसैगरी, पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गरे अनअराइभल भिसा पाउनेछन् भने नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्ने हुन्छ । विश्व महामारिको रूपमा देखिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले २०७६ सालको फागुन अन्तिम सातादेखि नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिन बन्द गरेको थियो ।

त्यसयता कोरोना संक्रमित हुनेहरूको संख्या क्रमशः घट्दै गएसँगै विभिन्न संघसंस्थामा आबद्ध पर्यटन व्यवसायीले लामो समयदेखि गर्दे आएको आग्रहपछि सरकारले १८ महिनापछि बल्ल विदेशी पर्यटकलाई नेपाल प्रवेशको अनुमति दिएको हो । अब विमानस्थलबाटै विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकले अनअराइभल भिसा पाउने भएका हन् ।