विराटनगर, असोज १२ । गत मंगलबार मन्त्रिपरिषद् बैठकले दक्षिणी सीमावर्ती सबै नाका खुला गर्ने निर्णय गरेको सुनेपछि विराटनगर महानगरपालिका–१३ का चन्दन यादव बुधबार जिप चढेर जोगवनी हिँडे। सीमानाकामा वारि सवारीसाधनको लामो लाइन थियो। उनले जिप वारि नै रोके, ढाटनजिक पुगेपछि छक्क परे। नाकामा खटिएका सुरक्षाकर्मीले ‘पैदल जान छुट छ, सवारीसाधनसहित जान रोक छ’ भन्ने जवाफ दिएपछि चन्दन रन्थनिँदै घर फर्के।

सरकारले नाका खुलाउने निर्णय गरेपछि पनि नखुल्दा चन्दनजस्ता धेरै मानिस अलमलमा छन्। सीमाक्षेत्रका अधिकांश मानिसको दैनिकी भारतीय बजार जोगवनीसँग जोडिएको छ। दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा खरिद गर्न पनि वारिका मानिस जोगवनी पुग्छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पारिका मानिस भने औषधिउपचारका लागि विराटनगर आउँछन्। सम्बन्ध यतिमै सीमित छैन, वारिपारिका मानिसबीचको वैवाहिक, सांस्कृतिक सम्बन्ध छ। जसका कारण उनीहरू वारिपारि गरिरह्नुपर्छ। तर सीमा नाका नखुल्दा यो सम्बन्ध खुम्चिन पुगेको छ।

प्रदेश १ को प्रमुख नाका विराटनगरमात्र नभई प्रदेश २ को प्रमुख नाका वीरगन्जको अवस्था पनि उस्तै छ। बन्द नाका नखुल्दा सवारीसाधन लिएर वारपार गर्न रोक छ। ०७६ चैत ११ गतेदेखि बन्द भएको विराटनगरस्थित रानी नाका ०७८ साउन २७ गतेदेखि खुकुलो पारिएको छ।

पैदल यात्रीका लागि नाका खुकुलो पारिए पनि सवारी आवागमनमा रोक यथावत छ। नाकाका ढाट दुवैतर्फ बन्द रहे पनि पैदल यात्रुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर आउजाउ गर्न दिइएको छ।

पैदल यात्रुलाई आउजाउ गर्न दिएपछि भारतीय बजार जोगबनीमा दैनिक उपभोग्य सामान किन्न जानेहरू हौसिएका छन्। नजिकिँदै गरेको बडादसैंका लागि किनमेल गर्न जानेको अहिलेदेखि नै जोगवनी बजारमा भिड देख्न सकिन्छ। नागरिक दैनिकबाट