यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन ।

यस वर्ष मनसुन गत जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ ।

यसअघि सामान्यतया नेपालमा १० जुनमा मनसुन भित्रिने र २३ सेप्टेम्बरमा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा मनसुन बाहिरिने बताइएको छ ।

‘गुलाब’ नामक शक्तिशाली चक्रवात हिजोदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको औंल्याइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ डिग्री र अधिकतम तापक्रम ३० दशमलव ० डिग्री सेल्सियस रहेको छ ।

मंगलवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव ० डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।