दुई दिनपछि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनको खाद्य व्यवस्थापनका लागि टेण्डर आह्वान भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ सम्म तीन दिन चल्ने महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन दिनका लागि बिहानको खाना र दिउँसोको खाजाका लागि टेण्डर आह्वान गरिएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ५ हजार प्रतिनिधिका लागि खाना र खाजाका लागि गरिएको टेण्डर आह्वानमा १० जनाले प्रतिस्पर्धा गरेका थिए । तामाङले भने, ‘१० जनाको टेण्डर परेको थियो, त्यसमध्येबाट एउटा छनोट भएको छ, उहाँले न्यूनतम रेटमा खुवाउनुहुन्छ ।’

कार्यालय सचिव तामाङले टेण्डर पर्नेको नाम र दर रेट भने खुलाएनन् । विधान महाधिवेशन प्रचार उपसमितिमा रहेका एमाले नेता खिमलाल भट्टराईले बुधबार बेलुकासम्म सबै तयारी सकेपछि असोज १४ गते बिहीबार पत्रकार सम्मेलन गरेर खानासम्बन्धी तयारीबारे विस्तृत जानकारी दिने बताए । करिव ५ हजार प्रतिनिधि सहभागी हुने सो महाधिवेशनमा आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन भने सम्बन्धित प्रदेश कमिटीहरुले नै गर्नेछन् भने व्यवस्थापनका लागि अनेरास्ववियु, जिफन्ट र खेलकूद संघबाट २ सय स्वयंसेवक खटिनेछन् । करिव तीन हजार सिट क्षमताको सनराइज हलमा सबै नअट्ने भएपछि बाहिर समेत पाल टाँगेर व्यवस्थापन गर्ने तयारी भएको छ । महाधिवेशनमा तीनवटा दस्तावेज पेश हुनेछन् । जसमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी र स्थायी समितिमा छलफल भैसकेका छन् । ति छलफलमा आएका सुझाव समेत समेटेर नेताहरुले दस्तावेजलाई पूर्णता दिएपछि विधान महाधिवेशनमा पेश गर्नेछन् ।