विराटनगरको एउटा होटलमा बन्धक बनाएर विद्युत प्राधिकरणका कर्मचारीमाथि बुधबार बिहान आक्रमण गरिएको छ। विराटनगर महानगरपालिका–१२ मा रहेको होटल इष्ट्रन स्टारमा बन्धक बनाएर कर्मचारीमाथि आक्रमण गरिएको हो।

विद्युत प्रयोग गरेवापत लामो समयदेखिको बक्यौता रकम नतिरेको पाइएपछि बिजुलीको लाइन काट्नलाई कर्मचारीको टोली बिहान ९:३० बजेतिर होटलमा पुगेको थियो। होटलको लाइन काट्न विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रिसीयन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा, प्राधिकरणका सहयोगी विराटनगर–५ का सुनील हरिजन र चालक विराटनगर–४ का जितबहादुर सुनुवार पुगेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार होटलका सञ्चालक विराटनगर–१ घर भएका तुलसी पोखरेलले प्राधिकरणका कर्मचारीमाथि आक्रमण गरेको पाइएको छ। पोखरेलको नेतृत्वमा होटलका सुरक्षागार्ड र कर्मचारीसमेत मिलेर इलेक्ट्रिसीयन खतिवडामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ। आक्रमण एवं कुटपिटबाट खतिवडाको गाला सुन्निएको छ। ओठ फुट्नुका साथै निधरको देब्रे पाटो फुलेको छ।

‘प्राधिकरणको पत्रसहित लाइन काट्दै जाने क्रममा होटलमा पुग्यौं’, खतिवडाले भने, ‘होटलमा छिर्नासाथ गेट बन्द गर्दै आधा घण्टाजति थुनेर गुन्डागर्दी शैलीमा आक्रमण गरियो।’ सुरुमा दुरव्यवहारमा उत्रिएका पोखरेलले पछि कर्मचारी र सुरक्षागार्डसमेतको सहयोग लिएर आक्रमण गरेको उनले बताए। हात, लात्ता र इँटाले आक्रमण गरिएको खतिवडाले बताए। भने, ‘इँटाले हानेका थिए। छलिएर बाँच्न सफल भएँ। बारम्बार ममाथि मुक्का र लात्ता प्रहार गरे।’

उनका अनुसार लाइन काट्नलाई प्राधिकरणले दिएको पत्र देखाउनसाथ सुरुमा अश्लिल शब्द बोल्दै र दुरव्यवहार गर्दै पोखरेलले तथानाम गालीगलौज गरेका थिए। ‘म को हो तैंले चिनेको छस् ? तँलाई यहीँ खाल्डो खनेर गाडिदिन्छु भन्दै धम्क्याए’, खतिवडा भन्छन्, ‘अफिसले दिएको जिम्मेवारी पूरा गर्न आएका हौँ भनेर हामीले भनेपछि आक्रमण गर्न थालियो। भाग्न खोज्दा गेट बन्द गरेर बन्धक बनाइयो।’

होटल सञ्चालकले बन्धक बनाएका कर्मचारीलाई प्रहरी र विद्युत प्राधिकरणबाट अरु कर्मचारी पुगेर उद्धार गर्दै बाहिर निकालेका थिए। होटलको लाइन काट्नसाथ सुरुमा गेट बन्द गरेर आक्रमण गरिएपछि प्राधिकरणका कर्मचारीलाई बाहिर निस्कन नदिइकन बन्धक बनाएर राखेको पाइएको घटनास्थलमा पुगेका एक प्रहरीले बताए।

पोखरेलले प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्कालाई पनि टेलिफोनमा अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गर्दै धम्क्याएको एक कर्मचारीले बताए। उनका अनुसार फोनमा भन्दा पनि कार्यालयमै कुरा गरौँला भन्दा पोखरेलले तथानाम गाली गरे।

प्राधिकरणका अनुसार पोखरेल सञ्चालक रहेको होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ। समयमा शुल्क नबुझाएका कारण त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न आलटाल गरेपछि होटलको लाइन काट्न कर्मचारीको टोली खटाइएको प्राधिकरणले जनाएको छ।

होटल सञ्चालक पोखरेल विराटनगरका जग्गा कारोबारी पनि हुन्। एमालेमा रहेर राजनीतिक गतिविधीमा समेत संलग्न हुँदै आएका उनी प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकारसमेत थिए। आफूलाई पर्यटन व्यवसायी भन्न रुचाउने पोखरेलले भने कुटपिट नगरिएको दाबी गरेका छन्।

‘विद्युतका कर्मचारी एक्कासि होटलको लाइन काट्न आएपछि सम्झाइबुझाइ गरेको हुँ। लाइन नकाट्नुभन्दा उनीहरुले नामानेपछि सामान्य भनाभन भयो होला’, पोखरेलले अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा भने, ‘कसैलाई पनि कुटपिट गरिएको छैन। लाइन काट्न खोजेपछि म पैसा तिर्छु नकाट्नु भनेर रोकेको चैँ हुँ।’ लाइन काट्नलाई रोक्ने क्रममा लडेर प्राधिकरणका कर्मचारीलाई चोट लागेको हुनसक्ने दाबी उनको छ।

यसैबीच प्राधिकरणका प्रमुख खड्कासहितको टोलीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा पुगेर घटनाको जानकारी गराउँदै पोखरेललाई कारबाही हुनुपर्ने माग गरेको छ। ‘प्राधिकरणका कर्मचारी असुरक्षित बनेपछि प्रहरी र प्रशासनलाई पत्र नै पठाएर कानुन अनुसार कारबाही हुनपर्ने माग गरिएको छ’, खड्काले भने, ‘ग्राहाकबाटै आक्रमण हुन थालेपछि फिल्डमा निस्किएर काम गर्न कर्मचारीलाई समस्या भयो।’

गुन्डागर्दी शैलीमा आक्रमण भएको भन्दै कर्मचारीले दोषीमाथि कारबाही नभए प्राधिकरणको काम अवरुद्ध बनाउने चेतावनी दिएका छन्। ‘कर्मचारीमाथि असुरक्षा बढ्यो। अब फिल्डमा गएर काम गर्नसक्ने अवस्था छैन,’ एक कर्मचारीले भने, ‘प्रशासन र प्रहरीले पनि कारबाहीका लागि चासो देखाएनन्। आक्रमणकारीलाई बचाउने काम भएमा प्राधिकरणको काम कारबाही ठप्प बनाएर आन्दोलनमा उत्रन्छौँ।’

प्राधिकरण प्रमुख खड्काका अनुसार दुई महिनाभन्दा बढीको बाँकी बक्यौता रहेका ग्राहाकको लाइन काट्ने गरिएको छ। त्यही क्रममा लाइन काट्न गएका कर्मचारीलाई आक्रमण भएको उनले बताए। नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध एवं दोषीमाथि कारबाहीको माग गरेका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनाका बारेमा प्राधिकरणले जानकारी गराइसकेको बताए। ‘कुटपिट गर्ने र कुटाइ खाने दुवै पक्षलाई कुरा मिलाउन छलफलका लागि पठाइएको छ,’ उनले भने, ‘छलफलबाट केही निस्कर्ष ननिस्किएमा आक्रमण गर्नेविरुद्ध कानुनी कारबाही अघि बढ्छ।’