सामूहिक बलात्कारको आरोपमा प्रहरीले इटहरीबाट पाँच जनालाई पक्राउ गरेको छ । ६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरी परेपछि प्रहरीले आइतबार पक्राउ गरेको हो । एक जना फरार रहेका छन् । पक्राउ परेकामध्ये चार जना १८ वर्षमुनिका रहेकाले नाम र ठेगाना नखुलाएको प्रहरीले जनाएको छ ।

घटना असोज १५ गते राति ७ बजेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटवालका अनुसार इटहरी उपमहानगरपालिका–८ भुर्कीमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले कुटपिट गरी नजिकै रहेको बाटो छेउको धान खेतमा लगेर बलात्कार गरेका थिए । उनीहरुले ती महिलाले गलामा लगाएको सुनको दुई तोला चार आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजार रुपैयाँसमेत लुटेको उजुरी परेपछि पाँच जनालाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी निरीक्षक कटवालले भने, ‘जबरजस्ती करणीमा संलग्न भएकामध्ये गोमन भन्ने सुनील चौधरीलाई गत शनिवार इटहरी– १४ स्थित घरवाटै पक्राउ गरिएको थियो भने अन्य चार जनालाई खोजतलासपछि पक्राउ गरिएको छ ।’

पक्राउ परेका र पीडित महिलाको स्वास्थ्य जाँच इनरुवा जिल्ला अस्पतालमा भइसकेको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।