काठमाण्डाै - सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले मन्त्रालय भागबण्डाकाे टुङ्गो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकले यस अघि भएको मन्त्रालय बाँडफाँटमा हेरफेर गर्दै सहमति गरेको हो ।

सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४/४ मन्त्रालय पाएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक राज्य मन्त्री पनि पाउने सहमति भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुन–कुन मन्त्रालय भन्ने टुङ्गो लगाएर हिजो नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाए पछि हिजो मन्त्रिपरिषद् विस्तार हुन सकेन । सहमतिका लागि हिजो फेरि छलफल भएको थियो ।

छलफलमा एकीकृत समाजवादीलाई स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय दिने सहमति भएको छ । एकीकृत समाजवादीलाई कानुन मन्त्रालयको साटो स्वास्थ्य मन्त्रालय दिने र प्रदेश-१ र वाग्मती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ । भागबण्डा मिलेसँगै एकीकृत समाजवादीले मन्त्रीको नाम टुङ्ग्याउन आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

यस्तै, नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित गृह, रक्षा, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।

यस्तै, माओवादी केन्द्रले अर्थ, उर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ । यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । जसपाले मन्त्रीको नाम भने टुङ्गो लगाउन सकेको छैन ।