कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फेरि पुरानै लयमा ल्याउन सरोकारवालाहरूले पहल थालेका छन् । १८ महिना लामो लकडाउन तथा निषेधाज्ञाका कारण लुम्बिनी क्षेत्र सुनसान रह्यो । बिस्तारै कोरोना सङ्क्रमण घट्दै गएको र अन्तर्राष्ट्रिय नाकासमेत खुला भएका कारण व्यवसायीहरू अब व्यापार वृद्धि हुने अपेक्षामा छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउन व्यवसायीहरूले अग्रसरता देखाएका छन् । कोरोना महामारीमा पनि लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटक आइरहेका थिए । बिस्तारै सबै क्षेत्र खुल्न थालेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । महामारीका कारण लुम्बिनीमा हुने मोलम पूजा, त्रिपिटक च्यान्टिङ, फुल मून डे, महायान र थेरावाद समुदायका विभिन्न क्रियाकलाप कम हुँदै गएकोमा यसलाई तत्काल अगाडि बढाउने प्रयास भइरहेको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले रातोपाटीलाई बताए ।उनका अनुसार लुम्बिनी विकास कोषले कोरोनाका कारण मृत्यु भएका बौद्ध धर्मावलम्बीहरूको सामूहिक पूजा गर्ने विषयमा पनि छलफल भएको छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउन बौद्ध धर्मालम्बीहरुलाई विभिन्न मुलुकबाट भित्र्याउने योजना अगाडि सारिएको छ । लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार लकडाउन भएपछि अहिलेसम्म विदेशी पर्यटक जम्मा २९३ जना (पासपोर्ट लागु हुने देशबाट) आएका छन् भने भारतबाट ३७ हजार २ सय पर्यटक आएका छन् । नेपालीचाहिँ १ लाख ७९ हजार ७३ जना लुम्बिनी क्षेत्रको भ्रमणमा आएका छन् ।
यहाँ आउने आन्तरिक पर्यटकहरू केही घण्टा घुमेर फर्कने गर्दछन् । यस्तै, भारतबाट आउनेहरू पनि अधिकांश उतैबाट खाजा लिएर आउने र केही घण्टा घुमेर जाने भएकोले यहाँको आर्थिक गतिविधिमा खासै प्रभाव नपार्ने डा. राईले बताए ।
आइतबारदेखि सुनौली–बेलहिया नाका सञ्चालनमा आएको छ । नाका खुला भएसँथै युरोपियन मूलका केही पर्यटक आउन थालेको होटल व्यवसायी खेम श्रेष्ठले बताए । जसबाट केही आशा पलाएको उनको भनाइ छ ।










