काठमाडौं, असोज २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले नियुक्तिको तीन दिनमै पद त्याग गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानन्यायाधीश राणा र न्यायालयकै आलोचना हुन थालेपछि हमालले राजीनामा गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री हमालले राजीनामा पत्र बुझाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । हमालले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत पनि भइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफू प्रधानमन्त्री बनेको तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुभएको प्रधानमन्त्री देउवाले हमाललाई प्रधानन्यायाधीश राणाको ‘कोटा’ मा मन्त्री बनाउन लागेको सुईंको पाएपछि सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म तीब्र आलोचना भएको थियो ।

देउवाले चौतर्फी विरोध हुँदाहुँदै पनि हमाललाई मन्त्री बनाएपछि आलोचना चुलिएको थियो । राजीनामा बुझाउनुअघि हमालले कांग्रेस महामन्त्री शशांक कोइरालासँग पनि भेट गर्नुभएको थियो ।

हमाललाई शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरिएको थियो ।