घरायसी बिषयमा झै–झगडा भई कुटपिट हुँदा रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेडाँडा टोल बस्ने ६५ वर्षीया कान्छी माया गमदानको मृत्यु भएको छ ।
आपसी झगडामा उनकै पति ७८ वर्षीय बुद्धि बहादुर गमदानले शनिबार बिहान कान्छीमायालाई लात्ती प्रहार गर्दा उनी पिँढीबाट आँगनमा बजारिन पुगेको प्रहरीले जनाएको छ ।
आँगनमा खस्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको थियो । उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो ।
कुटपिटमा संलग्न बुद्धिलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










