एजेन्सी, भारतको उत्तराखण्डमा कीर्तिमान वर्षा भएपछि कुमाऊँ क्षेत्रमा विनाश मच्चिएको छ ।वर्षाका कारण पर्यटकीय क्षेत्र नैनीतालमा धेरै असर परेको छ । विभिन्न नदीहरूमा जलस्तर बढेको छ । सयौं ठाउँमा पहिरो भएकाले घरहरू पुरिएका छन् र सडकहरू बन्द भएका छन् । कुमाऊँका डीआईजी नीलेश भरणेले बताए, ‘अहिलेसम्म ४६ जनाको मृत्यु भइसकेको छ । दुर्गम क्षेत्रहरूमा उद्धारकार्य जारी छ ।’ मृत्युसंख्या बढ्न सक्ने बताइएको छ ।मंगलवार नैनीताल जाने सबै सडकहरू पहिरो खसेर आवागमन रोकिएको थियो । अहिले सबै सडक खोलिएको डीआईजी भरणेले बताए । उत्तराखण्डको मौसम विभागले दिएको जानकारी अनुसार, कुमाऊँ क्षेत्रमा विगत १२४ वर्षमै पहिलोपटक सबभन्दा धेरै वर्षा भएको छ ।