गत आइतबारदेखि सुरू भएको अविरल वर्षाका कारण आज बिहानसम्म देशभरमा ८८ जनाको मृत्यु भएको पुष्टि भएको छ। गृहमन्त्रालयका अनुसार बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाटथप ३० जना बेपत्ता भएका छन्। मृत्यु हुनेमध्ये अधिकांशको पहिरोमा परी ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ जनाको मृत्यु पुष्टि भएको थियो । पहिरोमा परी पाँचथरमा सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ भने इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ ।
यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो बाढी पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता छन् भने पाँचथरमा चार जना हराइरहेका छन्।










