नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठेकाले उनले मार्ग प्रशस्त गर्दा नै राम्रो हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशको पद सम्मानित पद भएकोले उनको सहज ढंगले बहिर्गमन हुनेमा आफूहरू विश्वस्त रहेको सुनाएका हुन् ।

उनले भने, ‘हामीले भद्र कार्यक्रम गरिरहेका छौँ । हामीले अदालत बहिष्कार गरेका छैनौँ । इजलास हामीले बहिष्कार गरेका छैनौँ । अदालतमा मुद्दा सुनुवाइ गर्न स्थगित गर्न भनेका छैनौँ । अहिलेको अवस्थामा प्रधानन्यायाधीशको सहज बहिर्गमन नै सही विकल्प हो । पद परित्याग गर्नेहरूको नाम भोलि सुनौलो अक्षरले लेख्न सकिन्छ । तपाईँमाथि प्रश्न उठ्यो, अहिले मार्ग प्रशस्त गर्नुहोस् । सम्माननीय प्रधानन्यायाधीशको प्रतिष्ठा र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि पनि मार्ग प्रशस्त गरिए उहाँको नाम सुनौलो अक्षरले इतिहास लेखिनेछ। उहाँले मार्ग प्रशस्त गरे सबैको हित हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले बारले हिजो नै भोलिदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाए । उनले अहिले प्रधानन्यायाधीशको बारेमा प्रश्न उठेकोले आफूहरूले मार्ग प्रशस्त गर्नुहोस् भनेको स्मरण गराए । उनले आफूहरूले न्यायालयको स्वतन्त्रता, निष्पक्षता, पारदर्शिता र जनताप्रतिको जिम्मेवारीको लागि सुरुदेखि नै धेरै विषय उठाएको बताए ।

उनले भने,‘हामीले त न्यायाधीश नियुक्त हुन योग्यहरूको नाम सार्वजनिक गर्नुहोस् भन्यौँ । प्रारम्भदेखि यी विषय उठाएका छौँ । न्यायालयको गरिमाको लागि हामीले सुरुदेखि नै आवाज उठाएका छौँ । राजनीतिक दलहरूको हस्तक्षेपविरुद्ध यी आवाज हामीले उठाएका छौँ । दलहरूबाट न्यायपालिकाका प्रमुखलाई प्रयोग गर्ने, भाग दिने, न्यायाधीशहरूलाई पदक दिने काम भयो । चरम उत्कर्षमा पुगिसकेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूले खेलेको भूमिका, न्यायाधीशहरूलाई वितरण गरेको पदक, यी सबै गतिविधिले स्वतन्त्र न्यायपालिकाको गरिमा भङ्ग हुनेछ ।’