प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले बोलाएको एकल इजलास पनि सुरु हुन सकेको छैन। प्रधानन्यायाधीश जबराले आइतबारका लागि आफूसहितको १२ वटा इजलास तोकेका छन्। उनले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका हुन्। ती इजलासमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन्। तर अहिलेसम्म कुनै पनि इजलास सुरु हुन सकेको छैन।

प्रधानन्यायाधीश जबरा चौतर्फी दबाबमा परेपछि इजलास बस्न नसकेको हो। यता सर्वोच्च अदालतकै न्यायाधीशहरु इजलास बहिष्कार गर्दै आजपनि आन्तरिक छलफलमै व्यस्त छन्। उनीहरु आगामी रणनीति कसरी अगाडि बढाउने भन्ने विषयमा छलफललाई तीव्रता दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट न्यायाधीशहरु गत मंगलबारबाट इजलास बहिष्कार गर्दै आएका छन्। जबरालाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन उनीहरुको आग्रह छ।

यता कानुन व्यवसायीहरु पनि आन्दोलित छन्। नेपाल बार एसोसिएनमा आवद्ध कानुन व्यवसायीहरुले जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। उनीहरुले पूर्वघोषित कार्यक्रमअनुसार आइतबारबाट आन्दोलनलाई अगाडि बढाएका छन्। बहस बहिष्कार गर्दै आइतबार उनीहरुले हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध विरोध प्रदर्शन गरे।

केही कानुन व्यवसायीहरु भने इजलास बहिष्कार गर्ने न्यायाधीशविरुद्ध खरोरुपमा उत्रिएका छन्। यथाशीघ्र इजलास सुचारु गर्नुपर्ने माग उनीहरुको छ। जबरा भने आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्याधीश नियुक्त भएको भन्दै राजीनामा नदिने अडानमा छन्।

इजलासकै विषयमा केही दिनअघि कानुन व्यवसायीहरुबीच कुटाकुट समेत भयो । प्रधानन्यायाधीश विवादमा परेपछि सर्वोच्च अदालत सं‌कटमा परेको छ। लामो समयदेखि न्यायको पर्खाइमा रहेकाहरु मर्कामा परेका छन्।

यसैक्रममा आइतबार रिट लिएर सर्वोच्च अदालत पुगेका सेवाग्राहीहरु प्रहरीको लखेटाइमा परे। उनीहरुलाई लखेटेर प्रहरीले माइतीघरसम्म पुर्‍याएका थिए। आफूहरुले न्याय नपाएको भन्दै उनीहरुले दुखेसो पोखे।