प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
प्रदेशसभामा विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गर्नुभएको हो । आचार्यले अहिलेको अवस्थामा दलहरू मिलेर जानुको विकल्प नरहेको बताउनुभयो । आफ्नो सरकारमाथि भएको आलोचनालाई सकारात्मक रुपमा लिने भन्दै आचार्यले आगामी सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कोभिड नियन्त्रणको लागि निः शुल्क परीक्षण र उपचारको दायरा बढाईएको, तेस्रो लहरको सामना गर्न उपचारका लागि अक्सिजन, भेन्टीलेटर, शैयाको उचित प्रबन्ध गर्दै रु १० करोडको फन्ड राखेको, यातायातको सेवा अनलाईन लाने प्रबन्ध गरेको, धनकुटामा सेवा विस्तार गरेको, जिल्लाहरूमा सेवा कार्यालय खोलिएको तर एकीकृत सेवा दिने सवालमा थप अध्ययन भइरहेको सदन समक्ष जानकारी गराए ।
आचार्यले स्थायी राजधानीका संरचना निर्माण शुरु गर्न जग्गा खोज्न समिति बनाएको र खोजीपछि संरचना निर्माण गरिने बताए । प्रदेशको राजश्व वृद्धि गर्न स्थायी ढंगले काम अघि बढाइएको र नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनलाई सार्थक बनाउने प्रयास गरेको दाबी गर्दै भने, “बजेट बढाउन उच्च स्तरीय कार्यदल बनाएर राजश्वका स्रोत वृद्धि गर्न अध्ययन शुरु भएको छ ।”
पर्यटन बोर्ड, खेलकुद बोर्ड, श्रम सल्लाहकार समिति गठन, मनमोहन प्राविधिक विश्वविद्यालयमा छात्रवृत्तिको स्रोत सुनिश्चित गरेको, धनकुटामा एक सय बेडको अस्पताल उद्घाटन गरेको सदनलाई जानकारी गराए ।










