जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोटका मुख्य आरोपी पूर्व राज्यमन्त्री संजयकुमार साह ‘टकला’ को कैद सजाय उच्च अदालतले घटाएको छ।
जिल्ला अदालतले सुनाएको सजायलाई घटाउँदै उच्च अदालत, जनकपुरले ११ वर्ष सजाय सुनाएको हो। साहको योजनामा पाँच जनाको ज्यान जाने गरिए भएको बम विष्फोटको घटनामा जिल्ला अदालत, धनुषाले जन्म कैदको सजाय सुनाएको थियो।
विक्की दास कथबनियाले दिएको मुद्दामा बहस गर्दै धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्वराज्यमन्त्री साहको कैद सजाय घटाउने फैसला गरेका हुन्। फैसलामा साहले पाँच जनाको ज्यान जाने गरि भएको घटनामा षड्यन्त्र रचेको ठहर गरिएको छ।
यसअघि २०७५ मा जिल्ला अदालतले उनलाई मुख्य अभियुक्त ठहर गरेको थियो। मुख्य अभियुक्त भएकै कारण जन्मकैदको सजाय सुनाएको थियो।अहिले साह काठमाडौंको नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन्।
उनी धनुषा ३ बाट संविधानसभाको दुवै निर्वाचनमा विजयी भएका थिए। पहिलो पटक तत्कालीन मधेसी जनअधिकार फोरमबाट र दोस्रो पटक तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेका उनलाई संविधानसभा सदस्य रहेकै वेला दिल्लीबाट पक्राउ गरी ल्याइएको थियो।
१८ वैशाख, २०६९ मा मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा धर्ना बसेका स्थानीय बासिन्दालाई लक्षित गरी बम विस्फोट गरिएको थियो। विस्फोटमा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झासहित पाँच जनाको मृत्यु भएको थियो भने ३२ भन्दा बढी घाइते भएका थिए।
उनीविरुद्ध २९ जेठ, २०६९ मा अभियोग पत्र दर्ता गरिएको थियो। उनीसँगै मुकेश चौधरी, राजन मुक्ति, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई विपक्षी बनाइएको थियो।
त्यहि वर्ष २४ चैतमा प्रहरीले पुरक अभियोगपत्र दर्ता गरी मुख्य अभियुक्तका रुपमा साहलाई कैद सजाय माग गरेको थियो।
साहले ठेक्कापट्टामा अवरोध गर्दै आएका तत्कालीन जिल्ला विकास समितिका सहलेखापाल समेत रहेका स्थानीय जिवनाथ चौधरीको हत्या गर्ने योजना अनुसार बम विस्फोट गराएको खुलेको थियो। चौधरी काग्रेस निकट थिए।
दुवै जनाबीचको व्यक्तिगत टकरावकै कारण घटना भएको पाइएको थियो। बम विस्फोट गराएका सशस्त्र समूहका मुकेश चौधरीले नै साहले विस्फोट गराउन लगाएको बताएका थिए। उनीहरूबीचको टेलिफोन कुराकानी सार्वजनिक भएपछि साह पक्राउ परेका थिए।
मिथिला राज्य संर्घष समितिका संयोजक परमेश्वर कापडीले सजाइ घटाउनुलाई सन्तोषजनक नभएको बताए। तथापि पूर्वराज्यमन्त्रीलाई सजाय दिने फैसलाले कानूनी राज्यको अनुभूति गराएको उनको भनाइ छ।










