प्रदेश १ को तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन्।

राईलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको समर्थन लिएर मुख्यमन्त्री बनेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री रहेका भीम आचार्यले सोमबार राजीनामा दिएका थिए। त्यसपछि सोमबार प्रदेश प्रमुख प्यासीले सरकार गठनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारीको दाबी पेश गर्न समय तोकेका थिए।

सो समय भित्र राईले कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री राईले केहीबेरमा पद तथा गोपनियताको सपथ गर्ने बताइएको छ।