प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै प्रदर्शनरत वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन्।
सर्वोच्च अदालतमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडपको स्थिति श्रृजना भएको प्रदर्शनकारीहरूको भनाइ छ।
उक्त झडपमा परी नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन्।
कानून व्यवसायीहरूको विरोध प्रदर्शनमा प्रहरीले लाट्ठी चार्ज गर्दा ६ जना घाइते भएको कानून व्यवसायीहरूले बताए ।
सर्वोच्च अदालतको मूल ढोका अगाडि भइरहेको प्रदर्शन रोक्न काठमाडौँका प्रमुख जिल्ला अधिकारीले प्रहरी परिचालन गर्न आदेश दिएका थिए।
उक्त प्रदर्शनमा भीड बढेको भन्दै प्रहरीले हस्तक्षेप गर्दा वकिल र प्रहरीबीच घम्साघम्सी भएको हो ।










