नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल महोत्तरी आउने कार्यक्रम स्थगित भएपछि केन्द्रले आयोजना गर्न लागेको सबै कार्यक्रम स्थगित भएका छन् ।
रामगोपालपुर नगरपालिकामा १ बजे हुने भनिएको बृहत जनसभामा अध्यक्ष दाहाल नआउने भएपछि कार्यक्रमहरु स्थगित गरिएको माओवादी केन्द्रका महोत्तरी इन्चार्ज राजु खड्काले जानकारी दिए ।
ुजनसभालाई सम्बोधन गर्न महोत्तरी आउन लाग्नुभएका अध्यक्षको अचानक स्वास्थ्यमा समस्या आयो । उहाँ अहिले आराम गरिरहनु भएको जानकारी हामीले पाएका छौ,ु खड्काले भने, ुअध्यक्ष नआएपछि अहिलेलाई सबै कार्यक्रम स्थगित गरेका छौं ।ु
रामगोपालपुर नगरपालिकाका मेयर अशोक मण्डलका अनुसार अध्यक्ष दाहालले जनसभालाई सम्बोधन गर्नुभन्दा पहिला रामगोपालपुरका ७ वटा वडामा निर्माण गरिएका ७ वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा कोभिड अस्पताल उद्घाटन गर्ने कार्यक्रम थियो ।
रामगोपालपुरमा हुने जनसभासँगै स्वास्थ्य संस्था उद्घाटन कार्यक्रम पनि हाललाई स्थगित गरिएको मेयर मण्डलले जानकारी दिए । दाहाल शनिबार बिहान ९स्४० बजे काठमाडौंबाट जनकपुर हुँदै महोत्तरी आउने कार्यक्रम थियो ।
शनिबार बिहान ९ बजेपछि मात्रै दाहालको स्वास्थ्यमा समस्या आएकाले महोत्तरी आउन नसक्ने जानकारी आएपछि कार्यक्रम स्थगित गरिएको आयोजक समितिले जनाएको छ ।
दाहाल आउन नसकेपछि स्थगित भएका कार्यक्रम अर्को मितिमा गरिने आयोजक समितिले जनाएको छ ।










