पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध आन्दोलन स्वरूप ढुवानी ठप्प पार्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघले चेतावनी दिएको छ । महासंघका महासचिव राजेन्द्र ब्रिकम बानियाँले सोमबार विज्ञप्ति जारी गर्दै अविलम्ब मूल्यवृद्धि फिर्ता नभए ट्रक व्यवसायीहरूले आ–आफ्ना ट्रक ग्यारेजमा थन्क्याउने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ– छोटो अवधिमै पटक–पटक गरी पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि गरिएको कुराले यति बेला सिङ्गो जनसमुदाय आक्रोसित बन्न पुगेको छ । यसरी भाउ बढाइदा त्यसको नकारात्मक असर सर्वत्र पर्न जाने कुरा त छदै छ । यसको प्रत्यक्ष असर पर्ने एउटा प्रमुख क्षेत्र भनेको यातायात व्यवसाय हो ।
व्यवसायीहरूले वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडदारमा ट्रकहरू सञ्चालन गर्ने र डिजेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तलमाथि हुने बित्तिकै भाडा दर समायोजन गर्ने भनी यातायात व्यवस्था विभाग र नेपाल ट्रक यातायात व्यवसायी महासंघवीच लिखित सहमति भएकोमा लामो समयसम्मको अनुरोध पछि डिजेलको मूल्य प्रति लिटर रु १०४।– हुँदा भाडा दर समायोजन गरिएको सरकारलाई स्मरण गराएका छन् ।
विज्ञप्तिमा अगाडी लेखिएको छ– उक्त भाडा दर राम्रोसँग कार्यान्वयन हुन नसकिरहेकै अवस्थामा ठूला चाडपर्वहरूकै सेरोफेरोमा डिजेलको मूल्यवृद्धि गरी प्रतिलिटर १०४ रुपैयाँबाट ११९ रुपैयाँ पुर्याइएको छ । अतः डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाइएको अवस्थामा ट्रक व्यवसायीहरूले पुरानै भाडदारमा व्यवसाय सञ्चालन गर्न नसक्ने कुरा स्पष्ट पार्दछौँ ।
यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थमा भएको यस किसिमको चर्को मूल्यवृद्धिको विरोधका साथै मूल्यवृद्धि फिर्ता लिन समेत माग गरेका छन् । यदि यो फिर्ता हुन सक्दैन भने यातायात व्यवसायीहरूले आ–आफ्ना सवारी साधनहरू घर ग्यारेजमा थन्काउने समेत उनीहरूले चेतावनी दिएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई समेत आफ्ना विरोधको कार्यक्रम र योजनाबारे ध्यानाकर्षण समेत गराइसकेको छ । सो सम्बन्धी लिखित ध्यानाकर्षण पत्र यातायात व्यवस्था विभागका महानिर्देशकलाई बुझाइसकेको पनि बानियाँले बताएका छन् ।










