सोलुखुम्बुका एक व्यक्तिले आफ्नै छोराछोरीलाई एसिड आक्रमण गरी घाइते बनाएका छन्।

सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरीका ५० वर्षीय मोहन बराइलीले छोराछोरीलाई एसिड प्रहार गरी घाइते बनाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार मदिरा सेवन गरेका बराइलीले सोमबार राति २५ वर्षीय छोरा सुरज र १५ वर्षीया छोरी सुजितामाथि एसिड प्रहार गरेका हुन्।

एसिड प्रहारपछि घाइते भएका दुबै जनालाई उपचारका लागि वीर अस्पताल काठमाडौं पठाइएको सोलुखुम्बुमा प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए।

मोहनलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। घाइतेमध्ये सुरजको घाँटीमा र सुजिताको हातमा चोट लागेको छ।

जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि वीर अस्पताल पठाइएको कटवालले बताए। केही दिनयता मोहन छोरासँग झगडा गरिरहेका थिए।

मोहनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।