सर्लाहीको बलरा नगरपालिका ८ गडहिया डुमरियामा कांग्रेसको वडा अधिवेशनको क्रममा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्। कांग्रेसकै एक समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो।

प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा लान खोज्दा कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए। झडपलाई नियन्त्रणमा लिनका प्रहरीले केही थान अश्रुग्याँस समेत प्रहार गरेको स्थानीयले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ढुङ्गामुढामा परेर मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवल्दार, अर्का एक प्रहरी र एक जना नागरिक घाइते भएका छन्। अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै नाम खुल्न बाँकी रहेका हवल्दारको कन्चटमा चोट लागेको छ। अन्यलाई समान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते सबैजनाको सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ। स्थिति अहिले समान्य रहेको प्रहरीले जनाएको।

घटनाबारे बिस्तृत जानकारी आउन अझै बाँकी रहेको छ। आइतबार साँझ पनि सोही नगरपालिकाको वडा नं. ९ मा कांग्रेसकै दुई पक्षबीच झडप हुँदा गोली चलेको थियो।