विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकस्थित सरकारी दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणपछि हस्ताण्तरण गरिएको छ । अक्सिजन उत्पादनको परिक्षण गरेर सफल भएपछि दमक नगरपालिका मातहतको दमक अस्पतालले अक्सिजन प्लान्टको जिम्मा लिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’अन्तर्गत रहेर यो अक्सिजन प्लान्ट बनेको अस्पतालकी अध्यक्ष समेत रहनु भएकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनु भयो । डेढ बर्ष अघिदेखि यो काम शुरु भएको थियो ।

कम्तिमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने पनि जनाएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नआउने पनि अधिकारीले जानकारी दिनु भएको छ ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक बेडमा पाइपलाइनबाट अक्सिजन पुर्याईने पनि अधिकारीको भनाई रहेको छ । अहिले तत्काल आवश्यकता अनुसार सिलिण्डरमा अक्सिजन भरिने छ । बि.सं २०७३ सालमा हेल्थ पोष्टबाट स्तरउन्नती भएर १५ शैयाको दमक अस्पताल बनेको हो ।

दमक अस्पतालले कोभिड महामारीको समयदेखि बेग्लै कोभिड अस्पताल सञ्चालन गरिरहेको छ । ५० जनासम्मको उपचार क्षमताको बेग्लै संरचना सहितको कोभिड अस्पताल दमक अस्पताल मातहत रहेको छ । कोभिड महामारीमा कमी आएसंगै अहिले उक्त अस्पताल अस्थाई रुपमा बन्द गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमार्फत यस अस्पतालमा यो परियोजना आएको र यसले दमक नगरपालिका मातहत रहेको दमक अस्पतालको स्तरउन्नतीमा सहयोग पुग्ने अपेक्षा लिईएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनु भयो । अस्पताल स्तरन्नतीका लागि सम्बन्धित निकायमा माग पनि गरिदै आएको छ, नगर प्रमुख ओलीले भन्नुभयो ।

यो अस्पताल सरकारी विमा कार्यक्रम अन्र्तगत दमक नगरपालिका सहित आसपासका नगरपालिका र गाँउपालिका भित्रका बिमित नागरिकहरुको पहिलो विन्दु अस्पताल हो । यहाँ दैनिक १ हजारभन्दा बढि विरामीहरुले ओपिडि सेवा लिदै आएको दमक अस्पतालकी सूचना अधिकारी देबी दंगालले बताउनु भयो ।

अस्पतालको नयाँ भवन निर्माणका लागि २०७७ असार १९ गते सम्झौता भएर ३० महिनाभित्र काम सक्ने गरी लुम्बिनी अर्घखाँची निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको जनाईएको छ । २० करोड ४ लाख २९ हजार ४०८ रुपैँयाको लागतमा भवन निर्माणको काम भइरहेको छ, दंगालले भन्नुभयो ।