फिफा विश्वकपअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन्। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको २२औं संस्करणअन्तर्गत कतारको एजुकेसन सिटी रंगशालामा सुरुआती ४५ मिनेटमा कुनै गोल हुन सकेनन्।

दुवै टिमले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा मध्यान्तरसम्म पनि डेडलक कायम रह्यो। सन् २००२ मा मैत्रीपूर्ण खेलमा आमनेसामने भएका टुयुनिसिया र डेनमार्कको विश्वकपमा पहिलो भेट हो। जापानमा भएको त्यो मैत्रीपूर्ण खेलमा डेनमार्क २–१ ले विजयी भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोहमेद ड्रागरले ११औं मिनेटमा गरेको प्रहार डेनिस डिफेन्डर क्रिस्टियनसेनलाई ठोक्किएर बाहिरिँदा ट्युनिसियाले अग्रता लिने मौका गुमाएको थियो।

विश्वकपका पछिल्ला १५ मध्ये १४ खेलमा गरी ट्युनिसियाले २५ गोल खाएको छ। सन् १९७८ मा वेस्ट जर्मनीविरुद्ध एक मात्र खेलमा ट्युनिसियाले गोल नखाई ०–० को बराबरी खेलेको थियो।

डेनिस प्लेमेकर क्रिस्टियन एरिकनले २०औं मिनेटमा प्रहार गरेको कर्नरमा योहाकिम एन्डरसनको हेडर बाहिरिएको थियो।

समूह ‘डी’कै अर्को खेलमा मंगलबार राति फ्रान्स र अस्ट्रेलिया आमनेसामने हुनेछन्।