११ मंसिर, काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ कार्यकर्तामाझ नेपालले भने, ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

२०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए । स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोजेका थिए ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा २० सिट पाएको थियो । जसमध्ये १० जनाले मात्र चुनाव जितेका छन् । चुनाव जित्नेमा नेता नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढा र अम्मरबहादुर थापा रहेका छन् ।

राष्ट्रिय पार्टी नबन्ने चिन्ता

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए । ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न नसकेर राष्ट्रिय पार्टी नबनिने हो कि भन्ने चिन्ता उनीहरुमा थियो ।

अध्यक्ष नेपालले भने अझै मतगणना जारी रहेको भन्दै नआत्तिन आग्रह गरे । समानुपातिकतर्फको ८९ लाख मत गन्दा एकीकृत समाजवादीले २ लाख ३९ हजार मत पाएको छ । राष्ट्रिय पार्टीको मान्यता पाउन कुल खसेको सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।

राष्ट्रिय दल नबने उनले संसदीय दलको कार्यालय, दलका नेता र सचेतकले पाउने सुविधा पाउने छैन ।