अन्तिम मतपरिणाम आइनसक्दै नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता सम्वाद थालेको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियाबारे नै सम्वाद भएको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार, सम्वादका क्रममा दुवै नेता पूर्वसहमति अनुसार, एकता प्रक्रिया अघि बढाउन सकारात्मक छन् । लगत्तै एकीकृत समाजवादीको पार्टी बैठक समेत बसेको छ । तर अन्तिम परिणाम आउन बाँकी रहेकाले कुनै ठोस् निर्णय नभएको नेताहरुले बताएका छन् । ‘चुनावी परिणाम आइसकेको छैन । अझै १५ गते मतदान बाँकी छ’ एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसाल भन्छन्, ‘अनि बल्ल पावर शेयरिङको छलफल हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर अन्तिम परिणाम आउन बाँकी रहँदै सुरु भएको यी दुई पार्टीको एकता सम्वाद भने सरकार गठन र शक्ति बाँडफाँडसँग जोडिएको छ । त्यसको पहल प्रचण्ड आफैंले थालेका छन् । किनकि सरकार गठनको निर्णायक शक्ति बन्ने प्रचण्डको चाहना चुनावी नतिजाबाट पूरा हुन सकेन ।

चुनाव अगाडि प्रचण्डले माओवादी केन्द्र तेस्रो, तर निर्णायक शक्ति बन्ने दाबी गरेका थिए । चुनावबाट रवि लामिछाने, राजेन्द्र लिङदेन, सिके राउत र रेसम चौधरीको पार्टीले अप्रत्यासित मत ल्याउँदा माओवादी केन्द्र एक्लो निर्णायक शक्ति बन्न सकेन ।

त्यसैले प्रचण्ड एकीकृत समाजवादीसँग एकता गरेर भएपनि सरकार निर्माणको चाँबी आफ्नो हातमा राख्नेतिर लागेका छन् । चुनावी नतिजाले नै माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिदा सरकार गठनको विकल्प साँघुरिने देखाउँछ ।

यी दुई पार्टी एकता भएर बाहिर बस्ने निर्णय गरेमा कांग्रेस र एमाले मिलेर मात्रै सरकार बन्ने विकल्प बाँकी रहन्छ । तर माओवादी र एकीकृत समाजवादीलाई साथमा लिंदा फेरि पनि कांग्रेस नेतृत्वको गठबन्धनबाटै सरकार बन्नसक्ने सम्भावना बाँकी छ ।

सोमबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक भएको १६० निर्वाचन क्षेत्र र समानुपातिक तर्फको संभावित सिटको आंकलन गर्दा पनि कांग्रेस नेतृत्वको गठबन्धनसँग १३१ सिट पुग्न सक्छ ।

प्रत्यक्षतर्फ ५३ सिट जितिसकेको कांग्रेसले गणना भइरहेको दुबै क्षेत्रमा अग्रता लिइरहेको छ । गणना नभएको स्याङ्जा–२ र बाजुरामा पनि जित्नेमा कांग्रेस नेताहरु ढुक्क छन् । समानुपातिकतर्फ सवा २५ लाख मत कटाएको उसले ३२ सिट पाउने देखिन्छ । दुवैतर्फ गरी जोड्दा कांग्रेससँग ८५ नाघ्न सक्छ ।

प्रत्यक्षतर्फ १७ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट पाउने देखिन्छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ र राष्ट्रिय जनमोर्चा एक सिट जितेको छ ।

नेताहरुका अनुसार, कांग्रेसले अग्रता लिइरहेको दुबै क्षेत्र र गणना हुन बाँकी ३ क्षेत्रमा पनि गठबन्धनकै उम्मेदवारले जित्ने सम्भावना छ भने एकीकृत समाजवादी पनि थ्रेस होल्ड नजिक छ ।

यतिले पनि सरकार बनाउन आवश्यक संख्या १३८ नपुगे सीके राउत नेतृत्वको जनमत पार्टी (५), नागरिक उन्मुक्ति पार्टी (४) र स्वतन्त्र सांसदहरु (प्रभु साह, किरणकुमार साह, अमरेशकुमार सिंह) को समर्थन जुटाउन सकिनेमा सत्ता गठबन्धनका नेताहरुको विश्वास छ । ‘गठबन्धनका दलहरुको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने ठानेका छौं,’ मंगलबार पार्टी सचिवालयको बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सञ्चारकर्मीहरुसँग भनेका छन् ।

प्रचण्डले खोजे माधवको साथ

अहिलेको गठबन्धनलाई निरन्तरता दिने चाहना माधव र प्रचण्डको मात्रै नभएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवामा पनि छ । स्रोतका अनुसर, गठबन्धनलाई निरन्तरता दिनेबारे देउवा, प्रचण्ड र नेपाल बीच निरन्तर समेत समेत भइरहेको छ । सोमबार पनि माधवलाई सँगै प्रचण्डले देउवासँग पनि भेटवार्ता गरेका थिए ।

तर नेताहरुका अनुसार भागबण्डाबारे भने शीर्ष नेताहरुबीच खुलेर छलफल भएको छैन । प्रचण्ड आलोपालो प्रधानमन्त्रीको सहमति गर्ने र आफू पहिले सरकारको प्रमुख बन्ने चाहनामा छन् ।

तर कांग्रेसभित्र देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र गगन थापा आकांक्षी छन् । देउवालाई सहमत गराउँदा पनि आफू पहिला प्रधानमन्त्री बन्न सहज नदेखेपछि प्रचण्डले बार्गेनिङ क्षमता बढाउन माधवसँग एकतामा जोड दिएको एकीकृत समाजवादीका एक नेताको बुझाइ छ ।

हुनत यो चुनाव अगाडि नै यी दुई पार्टीबीच एकताको पहल भएको थियो । तर चुनावको मुखमा पार्टी एकता गर्दा एकीकृत समाजवादीमा विद्रोह हुने र फुटेर एमालेतिर जाने जोखिम बढेपछि नेताहरु रोकिएका थिए । अहिले पनि एकीकृत समाजवादीभित्र एउटा पंक्ति माओवादी केन्द्रसँग मात्रै एकता गर्ने पक्षमा छैनन् ।

‘एमाले, माओवादी सहित सबै कम्युनिष्टसँग एकताको लागि कुरा गरौं । तर मलाई मिटिङको थाहै नपाइ खुसुक्क एमाले बाहेक मिलाएर एकता गर्ने भन्ने पास गरेछन्, साथीहरुले’, एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने भन्छन् ।

उनका अनुसार, चुनाव अगाडि नै एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । तर अहिले तत्काल एकताको सम्वाद अगाडि बढाउनमा भने अहिलेकै गठबन्धनमा बार्गेनिङ क्षमता बढाउने रहेको लुक्दैन ।

नेताहरुका अनुसार, प्रचण्ड र माधव एकठाउँमा उभिएर कांग्रेससँग राष्ट्रपति र प्रधानमन्त्री दुबै दाबी गर्ने तयारी छ । आलोपालो प्रधानमन्त्रीको सहमति गरेर, पहिलो कार्यकालमा आफूले सरकारको नेतृत्व गर्ने प्रचण्डको चाहना छ ।

त्यसलाई पुष्टि गर्दै माओवादीका एक नेता भन्छन्, ‘झलनाथ खनाल राष्ट्रपति भन्ने थियो, तर चुनाव हारेकाले के गर्ने भन्नेछ ।’ इलाम–१ मा गठबन्धनको उम्मेदवार बनेका खनाल एमालेका महेश बस्नेतसँग पराजित भए ।

प्रचण्ड र माधवको योजनाअनुसार पार्टी एकता भए नयाँ सरकार गठनमा कांग्रेसलाई अप्ठ्यारो पर्नेछ । किनकी कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (२१), राप्रपा (१४) मात्र होइन, जनमत (५), लोसपा (४) र नागरिक उन्मुक्ति (५) मिलाउँदा पनि सरकार बनाउन सक्दैन । जसपा (१२) आउने हो भने बल्ल बहुमत पुग्ने संभावना रहन्छ । तर यो सजिलो विकल्प होइन ।

एमालेको हकमा पनि यही लागु हुन्छ । आफ्नो गठबन्धनमा भएको राप्रपा र जसपा मात्र होइन, रास्वपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति सबै जम्मा पार्ने हो भने मुस्किलले १३८ पुग्न सक्छ । अहिलेको परिस्थितिमा नाटकीय परिवर्तन नआए यो विकल्प पनि सजिलो छैन ।

सरकार गठनको यही अठ्यारो अंक गणितको आंकलन गरेरै प्रचण्डले माधव नेपाललाई साथमा लिने र पावर शेयरिङमा हात माथि पार्न खोजेका छन् ।