काठमाडौं, २१ मंसिर । नाकाबन्दीका वेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन । चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्न प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी व्यवसायीले बताएका छन् । भारतले नाकाबन्दी गरेका वेला चीनको केरुङबाट रसुवागढी हुँदै करिब १३ लाख लिटर पेट्रोल आयात गरिएको थियो । उक्त पेट्रोल आयात गर्न एक सय ३७ ट्यांकर परिचालन भएको बागमती ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष वासु दाहालले जानकारी दिए । ‘त्यतिखेर मुलुक कठिन परिस्थितिमा गुज्रिरहेको थियो र हामीले कठिन बाटोको परवाह नगरी तेल ओसार्यौँ,’ उनले भने, ‘अहिले उक्त तेल ओसारेको भाडा माग्दा पाइएको छैन ।’ आयल निगमको थानकोट डिपोबाट केरुङमा तेल ओसार्न पहिलोपटक १३ कात्तिकमा १२ ट्यांकर गएका थिए । पहिलो लटको तेल काठमाडौंमा १६ कात्तिकको साँझ आइपुगेको थियो। केरुङबाट तेल ओसार्नका लागि निगम र ढुवानी व्यवसायीबीच ‘उचित भाडा कायम गर्ने’ समझदारी भएको ट्यांकर व्यवसायी उमेश बानियाँले बताए । ‘राष्ट्रलाई इन्धन आपूर्ति गर्न हदैसम्म कठिनाइ भएका वेला हामीले कठिन बाटोको परवाह नगरी उचित भाडा उपलब्ध गराउने निगमको मौखिक आश्वासनमा इन्धन ओसार्यौँ,’ उनले भने, ‘तर, भाडा पाउने वेलामा निगमले एकतर्फी रूपमा किलोमिटरका आधारमा गणना गरेको छ ।’ उनका अनुसार निगमले प्रतिट्यांकर राउन्ड ट्रिप भाडादर १८ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । ‘त्यतिवेला उचित भाडादर उपलब्ध गराउने मौखिक सहमति गर्दा निगमका कर्मचारी ५०–५५ हजार रुपैयाँसम्म उपलब्ध गराउनसक्ने आश्वासन दिएका थिए,’ उनले भने, ‘तर, अहिले हाम्रो लागतले पनि नभ्याउने भाडादर दिन खोजिएको छ ।’ उनले एक ट्रिपमा तेल ओसार्न करिब ३५ हजार रुपैयाँ खर्च भएको दाबी गरे । निगमको वितरण विभाग प्रमुख सीताराम पोख्रेलले उचित भाडादर कायम गरिएको, तर व्यवसायीले बढी माग गरिरहेको बताए । ‘निगमले नियमसंगत पाउनुपर्ने भाडादर निर्धारण गरिदिएको छ,’ उनले भने, ‘व्यवसायीले बढी मागेको सुन्नमा आएको छ ।’ केरुङबाट तेल ओसार्न ट्यांकर परिचालन गर्ने जिम्मा तत्कालीन थानकोट डिपो प्रमुख रविन शर्मा थिए । उनी हाल केन्द्रीय कार्यालयको इन्जिनियरिङ विभागमा छन् । उनले तेल ओसार्न प्रयोग हुने ट्यांकरको ढुवानी भाडा उचित रूपले निर्धारण गर्ने सहमति भएको स्विकारे । ‘कठिन परिस्थितिमा तेल ओसार्नुपर्ने र भौगोलिक विकटता भएको स्थानमा ट्यांकर गुडाउनुपर्ने भएकाले सामान्य अवस्थाको दरले होइन, उचित रूपमा भाडादर कायम गर्ने सहमति गराएर ट्यांकर परिचालन गरिएको हो,’ उनले भने, ‘अहिले के–कसरी भाडादर निर्धारण भएको छ, मलाई थाहा भएन ।’ ट्यांकर ढुवानी व्यवसायीले उचित भाडादर नपाए आपूर्ति ठप्प पार्नेगरी आन्दोलन गर्ने बताएका छन् । ‘चीनबाट पेट्रोल ओसार्न मेरो दुई ट्यांकर परिचालन भएका छन् र चार ट्रिप तेल ल्याएका छन्,’ ढुवानी व्यवसायी बानियाँले भने, ‘उचित भाडादर नपाए हामी आन्दोलन गर्छौँ ।’ उनले चीनको केरुङबाट तेल ओसार्न बाटोको कठिनाइले ट्यांकरचालकले नमानेको र जबर्जस्ती पठाएको उनले बताए । ढुवानी व्यवसायीको हिसाबमा कुल ६८ लाख रुपैयाँ भाडाबापत पाउनुपर्ने हुन्छ । चीनबाट अनुदानमा आएको १३ लाख लिटर पेट्रोल १ सय ३७ पटक आयात गरिएको थियो । व्यवसायीको मागअनुसार प्रतिट्रिप ५० हजारका दरले १ सय ३७ पटक ओसार्दा ६८ लाख ५० हजार भाडा हुन आउँछ । ‘यो भाडा निगमले दिन मानेको छैन,’ बानियाँले भने । निगमले प्रतिट्रिप १८ हजार ६ सयका दरले भाडा निर्धारण गर्दा कुल २५ लाख ४८ हजार २ सय रुपैयाँ हुन आउँछ । ट्यांकर ढुवानी व्यवसायीले उचित भाडादर नपाए भारतबाट पेट्रोलियम आपूर्ति ठप्प पार्नेगरी आन्दोलन गर्ने बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
केरुङबाट पेट्रोल ल्याएका ट्यांकरले अझै पैसा पाएनन्
सवाल नेपालसंवाददातामंगलबार, १९ मङ्सिर २०७३

केरुङबाट पेट्रोल ल्याएका ट्यांकरले अझै पैसा पाएनन्
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



