अष्ट्रेलियाका १ सय ४ वर्षका वैज्ञानिक डेभिड गुडअलको बिहीबार निधन भएको छ । अष्ट्रेलियाबाट इच्छा मृत्युका लागि १० दिनअघि स्विजरल्याण्ड गएका गुडअलको स्विजरल्याण्डको एक क्लिनिकमा बिहीबार निधन भएको हो । आफू बाँच्नुको औचित्य सकिएको भन्दै इच्छा मृत्यु रोजेका उहाँलाई क्लिनिकमा सोडियम पेन्टोबार्बिटल नामक औषधि दिइएको हो । निश्क्रिय भएर बाँच्न नचाहेका गुडअल अष्ट्रेलियामा इच्छा मृत्युको प्रावधान नभएकाले स्विजरल्याण्ड पुगेको बताइएको छ । वनस्पतिविद् गुडअल आफ्नो जीवनको उत्तरार्धमा पनि निकै सक्रिय थिए ।

केही समययता हिँडडुल गर्नको लागि समेत अरुको सहायता लिनु परेपछि उनले आफ्नो स्वतन्त्रता गुमेको भन्दै इच्छा मृत्यु रोजेका हुन । ‘मेरो क्षमता र दृष्टि गुम्दै गएको छ’, ह्वीलचियरमा बसेका वैज्ञानीक गुडअलले अन्तिम पटकको पत्रकार सम्मेलनमा भनेका थिए, ‘यसरी धेरै बाँच्न चाहन्न ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘म विश्वास गर्छु कि मेरो कदमले अन्य देशहरु पनि इच्छा मृत्युको कानुनबारे उदार हुनेछन’, गुडअलले भनेका थिए, ‘मलाईलाई इच्छा मृत्युको कानुन बनाउन योगदान पुर्याएको भनेर सम्झिइने छ ।’ पत्रकार सम्मेलनको अन्तमा उनलाई सोधिएको थियो, ‘अन्तमा तपाईँ कुन गीत छान्नुहुन्छ रु’ उनले जर्मन गीत ‘ओडी टू जोय’ भन्ने गीत गाएर सुनाएका थिए ।