काठमाडौ, १६ पुस । संविधान संशोधनका पक्षमा दुई तिहाइ पुग्ने भारतीय राजदूत रन्जित रेको आश्वासनपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सांकेतिक विरोधसँगै संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ। राजधानीमा बिहीबार सुरु भएको मोर्चाको बैठकअघि बिहान भारतीय राजदूतावासमा राजदूत रेको मन्त्रणा लिई फर्केका मोर्चाका शीर्ष नेताहरू यो निर्णयमा पुगेका हुन् । राजदूत रेले उनीहरूलाई आफू एमालेसँग अनौपचारिक सम्पर्कमा रहेको र एमालेले संशोधनको समर्थन नगरे पनि प्रस्तावका पक्षमा संसद्मा दुई तिहाइ पुग्ने दाबी गर्दै मतदानमार्फत सरकारलाई समर्थन गर्नसमेत आग्रह गरेको स्रोतले बतायो । अहिलेलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा भारत नभएको धारणासमेत रेले उनीहरूलाई बताएका थिए। राजदूत रेको ब्रेक फास्टमा तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव सहभागी थिए। तमसपाका सहअध्यक्ष रामनरेश रायले बिहीबार बिहान मोर्चाका नेताहरूलाई राजदूत रेले ब्रेक फास्टमा बोलाएको पुष्टि गरे। उनले भने, ‘यो बैठकमा संशोधन, नेपालको विद्यमान राजनीति परिस्थितिका बारेमा छलफलभन्दा अरू के नै हुन सक्छ र ? यिनै विषयमा परामर्श भएको हो।’ ब्रेक फास्ट बैठकका कारण तमलोपाको केन्द्रीय कार्यालयमा शीर्ष बैठकको पहिलो दिन बिहीबार पूर्वनिर्धारित समयभन्दा एक घन्टा ढिलो गरी मध्याह्न १२ बजे मोर्चाका नेतात्रय बैठकस्थल पुगेका थिए । उनीहरूले मोर्चा बैठकमा ब्रेक फास्ट बैठकबारेमा केही जानकारी दिएका थिएनन् । नेतात्रयले मोर्चाका दोस्रो तहका नेतालाई बैठकबारे सामान्य जानकारी दिँदै संशोधनका पक्षमा लचकता अपनाउनुपर्ने लाइन आफूहरूले तय गरेको जानकारी दिए । दोस्रो दिनको शीर्ष बैठकमा महतो र यादव सहभागी थिएनन्। उनीहरू सहभागी नहुनुका कारणबारेमा स्रोतले भन्यो, ‘ब्रेक फास्टमा विरोधका कार्यक्रम नल्याउने सहमति गरी फर्केका नेताले युवाले भरिएको बैठकमा विरोधका कार्यक्रम रोक्न नसकेर सहभागी नभएका हुन्।’ दोस्रो तहका नेताहरूको दबाबमा मोर्चा बैठकले संशोधन प्रस्ताव पारित नभए कुनै पनि निर्वाचन बहिष्कार गर्ने, प्रस्तावित संशोधन विधेयक परिमार्जन हुनुपर्ने, एमालेका गैरसंसदीय क्रियाकलापको विरोध गर्नुका साथै संशोधन परिमार्जन गरी पारित नगर्न सोमबार खबरदारी सभा गर्ने निर्णय गरेको छ। संसद् अवरोध नगर्न एमालेलाई चेतावनी मधेसी मोर्चाले संसद्मा दर्ता भएको संशोधन प्रस्तावलाई सहमतिका आधारमा परिमार्जन गरी पारित नगरिएसम्म कुनै पनि तहको निर्वाचन मान्य नहुने निर्णय गरेको छ। दुईदिने मोर्चा शीर्ष बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले यस्तो निर्णय भएको जानकारी दिएका हुन्। एमालेले संशोधन रोक्न अलोकतान्त्रिक र गैरसंसदीय अभ्यास गरिरहेको भन्दै मधेसी मोर्चाले यस्ता गैरसंसदीय क्रियाकलापको घोर भत्र्सना गर्दै, तत्काल संसद् सञ्चालन गराउँदै लोकतान्त्रिक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेको छ। अन्नपूर्णपाेष्ट दैनिकमा खबर छ ।
‘दाहालको विकल्प छैन’
सवाल नेपालसंवाददाताशनिबार, १५ पुस २०७३

‘दाहालको विकल्प छैन’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



